Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनाम मात्रका आयुर्वेदिक सामग्रीबाट बचौँ

नाम मात्रका आयुर्वेदिक सामग्रीबाट बचौँ


काठमाडौं । अहिले देशमा नक्कली उपभोग्य सामग्रीहरूको बिगबिगी छ । बाहिर हेर्दा चिटिक्क देखिने र भित्र गुणस्तरहीन सामान हुने सम्भावना पनि हुन्छ । यसतर्फ उपभोक्ताहरू सचेत रहनु जरुरी छ । विशेषगरी ग्रामीण भेगमा बसोबास गर्ने र सहरका पनि साधारण लेखपढ भएका मानिसहरू यस्ता सामानहरू किनेर प्रयोग गर्ने गरेका छन् ।

सुपरमार्केटमा राखिएको होस् वा आयुर्वेद पसलमा त्यस्ता सामग्रीहरूको बारेमा यथेष्ट जानकारी लिनका लागि गुगलमा खोजी गर्दा पनि हुन्छ । ती सामग्रीहरूको प्याकेट वा बोत्तलमा उल्लेख भएका कुराहरू आधिकारिक छन् वा छैनन् यकिन गरेर मात्र खरिद गरी प्रयोगमा ल्याउन सकिन्छ । कतिपय कम्पनीहरूले प्रविधिको उपयोग गर्दै अनलाइन सपिङबाट समेत आयुर्वेदिक सामग्रीहरूको कारोबार गर्ने गरेका छन् । कसैकसैले दुखेको ठाउँमा मालिस गर्ने चालिस किसिमको तेलको मिश्रण भनेर पनि बिक्री गर्छन् । त्यसबारे निश्चित नभई विश्वास गरेर खरिद गर्ने बानी पनि छ नेपाली उपभोक्ताहरूको । त्यो सरासर गलत हो ।

टोलटोल र घरघरमा डुलाएर स्याम्पु साबुन तेल जडीबुटी चिया मञ्जनलगायतका सामग्रीहरू पनि बिल र रसिद काटेर सामान बिक्री गर्नेहरू पनि छन् सहरमा । यो लेखकले एकपटक त्यस्तै सामान किनेपछि पाएको रसिदमा भएको कम्पनीको दर्ता नम्बरबारे कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइट खोलेर नाम खोजी गर्दा दर्ता नम्बर मिलेको थिएन । त्यसकारण अहिले सजगता अपनाउने गरेको छु । राजधानीका सडक छेउँ फुटपाथमा पनि जडीबुटीहरू बेच्ने गरेको पाइन्छ । पदमचाल खयरको टुक्रा जटामसी राजवृक्ष टटेलोलगायतका जडीबुटी पनि पाइन्छन् । तर ती जडीबुटी बारेमा खास ज्ञान नभएका विक्रेताहरूले बिक्री वितरण गर्दै आएको पाइन्छ ।

सिंहदरबार वैद्यखानाः नेपालमा आधिकारिकरूपमा सिंहदरवार वैद्यखाना स्थापना भएर सञ्चालन हुँदै आएको छ । सिंहदरबार वैद्यखानाको च्यवनप्रास धेरै वर्ष पहिलेसम्म निकै लोकप्रिय थियो । हाल बजारमा पाइने आयातीत च्यवनप्रासले प्रश्रय पाएको छ । सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेद औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो । आयुर्वेदिक औषधी उत्पादन गर्नुका साथै यो वैद्यखानाले आयुर्वेदिक उपचारसम्बन्धी सल्लाह पनि दिँदै आएको छ । नेपाल सरकारको निर्णयानुसार २०५२ सालदेखि समितिको रूपमा काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको छ । आयुर्वेदिक औषधीमा विश्वास गर्नेहरूको कमी छैन नेपालमा । ढिलै प्रभाव पर्ने भए पनि साइड इफेक्ट नगर्ने भएकाले आयुर्वेदिकतर्फ आकर्षण छ ।

सिंहदरवार वैद्यखाना राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो । जुन अहिले निरन्तररूपमा सेवा दिँदै आएको छ । शाहवंशीय राजाहरूको समयमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथलीमा सारिएको यो वैद्यखानालाई पछि चन्द्र शमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ नामाकरण गरियो ।

हाल सिंहदरवार वैद्यखाना आफैँ रोगी बनेको छ । समितिका पदाधिकारीहरूमा राजनीतिक नियुक्ति हुने हुँदा विशेषज्ञता र अनुभव नभएका पदाधिकारीहरू भित्रिने गरेको हुँदा वैद्यखाना धराशायी हुँदै गएको पाइन्छ ।

नरदेवी आयुर्वेद चिकित्सालयः राजधानी काठमाडौंको नरदेवीस्थित नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौंमा अवस्थित एक आयुर्वेदिक अस्पताल हो । विसं १९७४ मा नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको थियो । ओपीडी प्रयोगशाला औषधी बिक्री कक्ष समेत रहेको यो अस्पतालमा खासै चहलपहल देखिँदैन । बिरामीहरूले तुरुन्तै असर गर्ने खालको उपचार चाहने हुँदा एलोपैथीतर्फ आकर्षित हुँदै आएको पाइन्छ । हाल नरदेवी आयुर्वेद अस्पतालमा एक सय १८ शय्याको सुविधा छ । वीर अस्पताल शिक्षण अस्पताल पाटन अस्पताललगायत सरकारी अस्पतालहरूमा दैनिक भिडभाड भइरहेको दृश्य देखिन्छ भने नरदेवी आयुर्वेद अस्पताल सुनसान देखिन्छ ।

आधुनिक चिकित्सा पद्धतिको विकाससँगै पुरानो चिकित्सा पद्धति ओझेलमा पर्न थालेको छ  । सन्तानब्बे वर्ष पहिले विसं १९७४ सालमा स्थापना भएको देशको पुरानो केन्द्रीय चिकित्सालयको रुपमा रहेको नरदेवी आयुर्वेद चिकित्सालय संकटमा पर्न थालेको हो  ।

देशभरबाट दैनिक जसो पाँच सयको हाराहारीमा आउने बिरामी अहिले दुई सयदेखि तीन सयको संख्यामा आउने गरेको निर्देशक डा रामदेव यादव बताउँछन् । उनी भन्छन्– ‘यो चिकित्सालय काठमाडौंको भित्री भागमा रहेकाले प्रचारप्रसार कम साथै आधुनिक अस्पताल धेरै खुलेका कारण बिरामी संख्या घटेको हो ।’

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धति समय सापेक्ष अगाडि बढ्न नसक्नुमा राज्यको कमजोरी भएको कर्मचारी ईश्वरी ढकाल बताउँछन् । नरदेवीमा एक सय १८ शय्याको क्षमता भएको उक्त चिकित्सालयमा १५ जना आयुर्वेद डाक्टर र ९५ जना कर्मचारी छन् । दाङको बिजोरीमा क्षेत्रीय चिकित्सालय रहेको छ उक्त चिकित्सालय ३० शय्या क्षमताको छ । देशका ७५ वटै जिल्ला र जिल्लाका मातहतमा गरी दुई सय १४ वटा आयुर्वेद औषधालय रहेको ढकाल बताउँछन् ।

आयुर्वेद औषधालयमा ग्यास्ट्राइटिस, अल्सर, हेपटाइटिस, बाथ, पिनास, नसासम्बन्धी रोग, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटीको रोग, पाइल्स, फिस्टुला, मधुमेह, रक्तचाप पथ्थरीलगायत रोगहरूको उपचार हुँदै आएको चिकित्सालयले जनाएको छ । पछिल्लो समयमा पञ्चकर्म चिकित्सा विधिबाट उपचार गराउँदै आएको औषधालयले जनाएको छ ।

आयुर्वेद स्नाकोत्तर तहको अध्ययन पढ्नका लागि पहिले भारतका विभिन्न कलेजमा जानुपर्ने बाध्यता भएता पनि अहिले सरकारी क्षेत्रमा आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहलाई चार सिट र स्नातक तहलाई १५ सिट क्षमताको क्याम्पस खुलेको यादव बताउँछन् । निजी क्षेत्रमा भने नेसनल आयुर्वेद कलेज वीरगञ्ज र मिथिला आयुर्वेद कलेज जनकपुरले स्नातक तह आयुर्वेद पढाई सञ्चालन गरिरहेको छ ।

नेपालबाट विभिन्न किसिमका जडीबुटीहरू भारततर्फ निकासी हुन लागेको धेरै पहिलेदेखि नै हो । यो लेखक सानो छँदा रोल्पाका लेकाली क्षेत्रहरूबाट चिराइँतो (रोल्पाली शब्दमा तिते) लगायतका केयन जडीबुटीहरू खकनसहितको डोकोमा बोकेर भारततर्फ जानेहरूको लर्को देखेको अहिले पनि सम्झना छ । दाङको कोइलाबास बजार कुनै जमानाको पहिलो ठूलो बजार थियो भने मानपुर दोस्रो ठूलो बजार थियो । मानपुरका सबै अड्डाहरू तुल्सीपुरमा सरेपछि हाल मानपुर बजार सुनसान छ । तुल्सीपुर तत्कालीन राप्ती अञ्चलको अञ्चल सदरमुकाम थियो । तुल्सीपुरमा पश्चित रोल्पा सल्यान र पश्चित रुकुमका मानिसहरू बसाइँ सरेर आएको पाइन्छ भने घोराही र लमहीमा रोल्पा पूर्व प्यूठान र रुकुम पूर्वमा मानिसहरू बसाइ सरेर आएको पाइन्छ । जमानामा निकै चहलपहल हुने गरेको कोइलाबास बजार पनि सुकिसकेको छ । दाङको घोराही राप्ती भेगकै सबैभन्दा ठूलो सहर भएको छ । गाडीहरूको सुविधा हुनथालेपछि कोइलाबास सुक्दै र घोराही अनि तुल्सीपुर चम्किँदै गए । पहिले घोराहीमा धेरै घोडाहरू भएको हुँदा बजारको नाम नै घोराही हुन गएको हो भन्ने भनाइ रहेको छ । ती घोडाहरूले कोइलाबाससम्म जडीबुटीलगायतका सामग्रीहरू ढुवानी गर्ने र भारतको बलरामपुरबाट कोइलाबास हुँदै घोराहीमा लत्ता कपडालगायतका उपभोग्य सामग्रीहरू ल्याउने गरिन्थ्यो ।

कर्णाली भेगबाट झनै बढी मात्रामा जडीबुटीहरू नेपालगञ्ज नाका हुँदै भारत निकासी हुने गरेको थियो । जडीबुटी संकलकहरूले खासै फाइदा गर्न सकेका थिएनन् । कर्णाली भेगबाट धेरै मात्रामा जडीबुटी भारततर्फ निकासी हुन थालेपछि कर्णाली भेगतिर यथेष्ट मात्रामा जडीबुटी पाइन छाडेको छ ।

राजधानी काठमाडौंमा अहिले आयुर्वेदिक उपचार गर्ने क्लिनिकहरूको संख्या बढ्दो छ र टेलिभिजनहरूमा लामैखालका विज्ञापनहरू पनि देखिन्छन् । टेलिभिजनहरूमा ती आयुर्वेदिक क्लिनिकहरूले नशा च्यापिएको, पायल्स, फिसरलगायतका रोगहरूको उपचारलाई विशेष महत्वका साथ विज्ञापन गरेका हुन्छन् । यस्तै, बागबजारमा रहेको श्रीकृष्ण औषधालय नेपालकै पुरानो औषधालय हो । पुतलीसडकमा रहेको झण्डु आयुर्वेदिक क्लिनिक र औषधी पसल पनि सञ्चालनमा छ । विभिन्न स्थानहरूमा आयुर्वेदिक औषधी पसलहरू चलिरहेकै छन् । तर ती पसलहरूमा पाइने सबै औषधीहरू विश्वसनीय छन् भन्न सकिँदैन । जुनसुकै सामानमा पनि नक्कलीकरण गरेको पाइन्छ ।

नेपालमा जडीबुटी वाइन पनि पाइने गरेको छ । कुनै बखत कुनै एक कम्पनीले रेड वाइन हनी हर्बल वाइन जिन्जर वाइन फ्रुट्स वाइन र यार्सा वाइन गरेको समाचार पनि नआएको होइन । एकताका डाँडाघरे वाइनले पनि बजार पाएको थियो । हाल यसको चर्चा कमै सुनिन्छ । हर्बल वाइन भनिए तापिन यसमा अल्कोहल मिसाइने हुँदा यो स्वास्थ्यका लागि भने लाभदायक मानिँदैन । अन्य मदिराबाट हुने हानिभन्दा हर्बल वाइनबाट हुने हानि कम हुनेमा दुईमत छैन ।

अन्त्यमा, विशेषगरी निजी क्षेत्रका कम्पनी तथा उद्योगहरूले जडीबुटी संकलन, प्रशोधन, प्याकिङ र बजारीकरण गर्दा भने सरकारीस्तरबाट उच्च निगरानी, निरीक्षण र अनुगमन गर्नु जरुरी छ । किनकि जनस्वास्थ्यमा खेलबाड हुनसक्ने हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनु जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद विभाग पनि छ । उक्त विभागले आफ्नो कार्यक्षेत्र फराकिलो बनाई जडीबुटी औषधीका लागि उल्लेखनीय काम गर्नु आवश्यक छ । आयुर्वेदको नाममा जनस्वास्थ्यमाथि खेलबाड हुन सक्ने भएकाले विभागले समय–समयमा निगरानी गरिराख्नु आवश्यक छ । भारतबाट आयात हुने आयुर्वेदिक सामानहरूमा पनि सरकारले आवश्यक दृष्टि पु¥याउनु पनि जरुरी देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x