Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन प्रवर्द्धनमा संरक्षित क्षेत्रको महत्व

पर्यटन प्रवर्द्धनमा संरक्षित क्षेत्रको महत्व


काठमाडौं । नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले जम्मा शून्य दशमलव एक प्रतिशत भू–भाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३ दशमलव २ प्रतिशत वनस्पति १ दशमलव १ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै गइरहेको छ । तसर्थ हामी र हाम्रा सन्ततिले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।

पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । वासस्थानको क्षति, अन्तर्रास्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी शिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको बढ्दो महत्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै भएको, र अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुनसक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नुपर्ने आपरिहार्य छ ।

संरक्षित क्षेत्रको स्थापनाले वन्यजन्तु, वनस्पति र प्राकृतिक वन क्षेत्रको संरक्षण भएको छ । प्राकृतिक सम्पदाहरू भविष्यका सन्ततिहरूको नासको रूपमा संरक्षण गरी बचाइराख्नुपर्दछ । यीनलाई प्राकृतिक रूपमा बचाइराख्नु सभ्य समाजको पहिचान र तपाईँहामी सबैको जिम्मेवारी पनि हो । संरक्षणबाट संरक्षित क्षेत्रको आवश्यकीय व्यवस्थापन भई भावी पुस्तालाई प्राकृतिक स्रोतको जस्ताको त्यस्तै हस्तान्तरण गर्न मदत पुग्दछ । सो हस्तान्तरणबाट प्राकृतिक सन्तुलन हुन्छ । सो सन्तुलनबाट वन्यजन्तु, पन्छी, प्राकृतिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । प्राकृतिक सन्तुलन कायम हुन नसकेमा मानिस स्वयंकै प्रगतिमा प्रतिकूल असर पर्नजान्छ । जलवायु परिवर्तन न्यूनीकरण गर्न र प्राकृतिक प्रकोप रोक्नको लागि पनि संरक्षित क्षेत्रको अहम् भूमिका रहन्छ । संरक्षित क्षेत्रबाट मनोरञ्जन पनि प्राप्त हुन्छ । सो क्षेत्रको भ्रमणले स्वदेशी एवं विदेशी पर्यटकलाई अपूर्व मनोरञ्जन प्रदान गर्न मदत गर्दछ । पर्यटकको मनोरञ्जनको लागि मनमोहक वातावरण उपलब्ध हुन्छ । संरक्षित क्षेत्र दृश्यवलोकनको निम्ति साथै विभिन्न अध्ययन अनुसन्धानको लागि लाभदायक हुन्छन् । संरक्षित क्षेत्रमा वन्यजन्तु, वनस्पति र प्राकृतिक वन क्षेत्र, हावापानी र भू–बनोट, सुरक्षित रहने हुँदा वैज्ञानिक अध्ययन साथै नयाँ आयामहरू उपलब्ध हुने मौका प्राप्त हुन्छ ।

मानव जाति तथा जीवित प्राणीको कल्याणमा सहयोग पु-याउने गतिविधिको लागि निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रको ठूलो योगदान रहन्छ । संरक्षित क्षेत्रबाट देशको कारोबार पनि बढ्छ । संरक्षित क्षेत्रमा आउने पर्यटकसँग लिइने शुल्क तथा अन्य शीर्षकबाट उठाएको रकमबाट राजश्व वृद्धि हुन्छ । यस्तो कार्यबाट प्रत्यक्ष तथा अप्रत्यक्षरूपले हुँदै आएका विभिन्न गतिविधि पर्यटन, विकास निर्माण आदि कार्यबाट स्थानीयस्तरमा रोजगारीको अवसरहरू प्राप्त भई स्थानीयहरूले रोजगारी पाउँछन् । संरक्षित क्षेत्रले मानव जीविकोपार्जनमा सुधार ल्याउँछ । निकुञ्ज र आरक्षको मध्यवर्ती क्षेत्र एवं संरक्षण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको लागि संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरू परिचालनबाट उनीहरूको जीविकोपार्जनमा सुधार भई आर्थिक समुन्नतिको लागि मदत पु-याउँछ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या समाधान गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । सोको लागि संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी संरक्षित क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्नसक्ने ठूलो सम्भावना रहेको छ ।

अतः पर्यटन प्रवर्द्धन दिगो विकास र वातावरण संरक्षण कार्यमा संरक्षित क्षेत्रको अहम् भूमिका हुन्छ । वन्यजन्तु तथा वनस्पति संरक्षण हुनु नै वनजंगल संरक्षण पनि हो । यो संरक्षणबाट प्राप्त हुने अपार वातावरणीय सेवाहरूले सबैलाई फाइदा गर्दछ । यो क्षेत्रबाट कृषि भूमिको उत्पादकत्वमा वृद्धि, कृषि भूमिलाई आवश्यक मलजलको उपलब्धता, संरक्षण कार्यबाट बढी पहिरोको रोकथाम, जलधार क्षेत्रको संरक्षण भई जनताको आर्थिक विकासमा टेवा पु-याउँछ । राष्ट्रिय निकुञ्ज तथा आरक्षमा आम्दानी हुने राजस्वको ३०–५० प्रतिशत रकमबाट स्थानीय जनतालाई प्रत्यक्ष फाइदा पुग्ने हुन्छ । प्रत्यक्ष आर्थिक आर्जन भई विभिन्न सेवा सञ्चालन जस्तैः होटल, लज सञ्चालनबाट वर्षेनी ठूलो धनराशि आम्दानी हुन्छ । सोबाट देशको कुल गार्हस्थ्य उत्पादनमा समेत योगदान पुग्दछ । नेपालमा आउने पर्यटकहरूको ६० प्रतिशतले संरक्षित क्षेत्रको अवलोकन भ्रमण गर्दछन् । त्यस कारण संरक्षित क्षेत्र हाम्रो राष्ट्रको लागि अमूल्य सम्पत्ति हो । संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटन र राजस्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ ।

अनादि कालदेखि नै मानिस, वन्यजन्तु तथा वनस्पति बीच घनिष्ट सम्बन्ध रहीआएको छ । वन्यजन्तु तथा वनस्पतिको संरक्षणप्रति चासो देखाउनु मानवजातिको समुन्नतिप्रति चासो देखाउनु हो । मानिस, वन्यजन्तु तथा वनस्पतिहरू सबैको जीवनचक्रमा खलल पर्नासाथ अरुहरूको जीवन चक्रमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा खलल पर्न थाल्छ । उदाहरणको लागि कुनै बिरुवा अथवा वन्यजन्तुको प्रजाति लोप भयो भने तिनीहरूको श्रृङ्खलामा विनाशकारी प्रभाव पर्न जान्छ । यसबाट मानिसको अस्तित्व समेत खतरामा पर्न सक्दछ । वन्यजन्तु तथा वनस्पति महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । अतः ती नभई हाम्रो जीवनचक्र चल्न सक्दैन । वातावरणलाई सन्तुलित राख्न वन्यजन्तु तथा वनस्पतिले ठूलो भूमिका खेल्दछन् ।

वातावरणमा ह्रास आएमा सर्वप्रथम मानिस नै प्रभावित हुन्छ । त्यसकारण संरक्षित क्षेत्र जोगाउन जनसहभागिताले अहम् भूमिका खेलेको छ । यी क्षेत्रहरू विभिन्न मुलुकका पर्यटकहरूका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा रही अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने प्रमुख निधिको रूपमा रहेकोले संरक्षित क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गरी पर्यटन विकास गरी राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पु-याउन सकिनेछ । (लेखकः नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया