Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगडलर र भारुमा निर्भर आयातनिर्यात

डलर र भारुमा निर्भर आयातनिर्यात


काठमाडौं । अमेरिकी डलर विश्वमा वस्तु तथा सेवाको खरिदबिक्री गर्दा हरेक देशले स्वीकार गर्ने अन्तर्राष्ट्रिय मुद्रा हो । आज विश्वमा यसकै माध्यमबाट आयात निर्यात भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको मूल्य मापक डलर बनेको छ । तसर्थ हरेक मुलुकले आवश्य वस्तुको आयात धान्नको लागि डलरकै सञ्चितिमा महत्व दिँदै आइरहेका छन् । नेपालले पनि यसै मुद्रालाई वस्तु मापनको माध्यम बनाई यसकै सञ्चितिमा जोड दिइरहेको छ ।

विगत तीन दशकदेखि नेपालले आयातलाई उच्च प्राथमिकता दिइरहेको छ । यसकै कारण निर्यातको अनुपातमा आयात करिब दश गुणाले बढेको छ । नेपाल आफ्नै कुनै पनि उत्पादनमा निर्भर बन्न सकेको छैन र बन्ने प्रयास पनि गरिरहेको छैन । स्वदेशमा उत्पादन हुन नसक्दा व्यापारघाटा उच्च हुँदै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा वैदेशिक व्यापारघाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४६ दशमलव ६४ प्रतिशतले बढी हो । यसै आर्थिक वर्षको मंसिरसम्म कुल आयात आठ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ हाराहारी छ । निर्यातको तुलनामा आयात उच्च रहँदा ५४ दशमलव ७० प्रतिशतले व्यापारघाटा बढेको हो ।

आजभोलि नेपालले पाम तेलको कच्चा पदार्थ डलरमा किनेर आयात आयात गरेको छ । त्यस कच्चा पदार्थलाई प्रशोधन गरी भारतीय रुपैयाँमा बिक्री गर्दछ । भटमासको तेलमा पनि यही प्रणाली अवलम्बन गरिहेको छ । चालू आर्थिक वर्षको छ महिनाको कुल निर्यातमा यी दुई वस्तुको हिस्सा ५६ दशमलव ४६ प्रतिशत छ । नेपालको निर्यात स्वदेशी उत्पादनभन्दा आयातीत कच्चापदार्थमा बढी निर्भर रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । त्यसो त निर्यात गत आवको छ महिनाको तुलनामा चालू वर्ष ९५ दशमलव ६१ प्रतिशतले बढेको छ । यो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्ष ६० अर्ब ७९ करोडको मात्रै निर्यात भएको थियो ।

निर्यात वृद्धि भए पनि आफ्नै उत्पादनको हिस्सा कम छ । कच्चापदार्थ आयातपछि त्यसैलाई निर्यात गर्दा दीर्घकालीन रूपमा फाइदा नहुने नेपाल राष्ट्र बैंक स्रोतको तर्क छ । मुलुकले आफ्नै उत्पादन गर्न नसक्दा यस्तो स्थिति आएको हो । भारत सरकारले पाम तेल आयातमा धेरै भन्सार लगाउँछ । तर, नेपालले थोरै लगाउँछ । भारत र नेपालको भन्सारदरकै कारण नेपालमा भटमास र पाम तेलको व्यवसाय बढेको देखिन्छ । यस्तो कर भारतले घटायो भने उक्त वस्तुको व्यवसाय फस्टाएर जान सक्दैन ।

यस प्रकारको व्यवसाय अल्पकालीन समयका लागि फाइदा दिने हुन्छन । यसो गर्दा उद्योगी व्यवसायीलाई केही मात्रामा फाइदा मिल्छ । मुलुकका लागि सीमित मात्रामा कर उठ्ने केही रोजगारी सिर्जना हुन सक्छ । आफ्नै देशको उत्पादनलाई प्रवर्द्धन गरेर निर्यात गर्न सके राम्रो । निर्यात गर्दा स्वदेशी वस्तुको भार धेरै बनाउनेतर्फ लाग्नु पर्दछ । विदेशबाट ल्याएर भ्यालुएड गर्दा कम देखियो भने डलरमा किनेर भारुमा बेच्दा नेपाललाई कम प्रतिफल प्राप्त हुन्छ । नेपालले अहिल्यै पर्याप्त स्वदेशी वस्तुको निर्यात विस्तार गर्ने अवस्थामा पनि छैन । अहिले नेपालले गार्मेन्ट, कार्पेटको निर्यात दोब्बर गर्न चाहेर पनि सक्दैन । नेपालले अवसरको लाभ लिने हो । कुनै देशबाट लाभ लिन सकिन्छ भने त्यतातिर लाग्दा नराम्रो भने होइन । तर, दीर्घकालमा निर्यातलाई कसरी लैजान सकिन्छ भनेर त्यसलाई विचार पु-याउन जरुरी छ । डलरमा किनेर भारुमा बिक्री गर्दा यसले विदेशी विनिमयमा फरक नपर्ने देखिन्छ ।

स्वदेशी उत्पादन बढाउन ड्युटी, कच्चा पदार्थ, विद्युत् महसुललगायतमा सरकारले विशेष व्यवस्था मिलाउन आवश्यक छ । निर्यातमा स्वदेशी वस्तुकै हिस्सा अधिक बनाउन सरकारले उत्पादनमुखी उद्योगलाई कर, बिजुलीलगायतमा छुट दिएर प्रोत्साहन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ । आयातीत कच्चा पदार्थ प्रशोधन गरी भ्यालुएड गरेरै निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा छ । जसमा पाम र भटमासको तेलको निर्यात मात्रै ६७ अर्ब नौ करोड ७६ लाख ३६ हजार भएको हो ।

पामको उत्पादन स्वदेशमा छैन । भटमासको उत्पादन घरायसी प्रयोजनबाहेक तेलका लागि पर्याप्त छैन । यसैले यस्ता वस्तुको तेल निकाल्न कच्चापदार्थ आयात गरिएको हो । पामको कच्चापदार्थ छ महिनामा २७ अर्ब ८८ करोडको आयात भयो । त्यसलाई प्रशोधन गरी ३१ अर्ब ९७ करोड ५५ लाख रुपैयाँबराबरको निर्यात गरिएको छ । भटमास ३६ अर्ब ५८ करोड ९१ लाखको आयात भयो । त्यसको प्रशोधन गरी ३५ अर्ब १२ करोड २० लाख ४९ हजारबराबरको निर्यात भएको छ ।

वर्षैपिच्छे अर्बौँको खाद्यान्न आयात गरेको तथ्याङ्क देखिनु नेपालमा उत्पादन खाद्यान्न उत्पादनकै समयमा भण्डारण व्यवस्थापन नभएको कारण हुनसक्ने आकलन गर्न सकिन्छ । अहिले सम्म उत्पादनयोग्य भूमि बाँझो रहेकोलाई उत्पादनमा परिणत गरी उत्पादन गर्दा निर्यात उच्च बनाउन सकिने अवस्था छ । कृषि उत्पादनले नेपालको आधारभूत जीवन संरक्षण हुन्छ, यो विकासको पहिलो सर्त हो । यसै पेशाका कारण आम गाउँवासीले आफ्नै थातथलोमा बस्ने अवसर प्राप्त गर्र्दछन् गाउँमै बसेर आफ्ना सन्तानको सपना साकार पार्न सक्छन् । ग्रामीण उत्पादनका साधनमा सबै सर्वसाधारणको पहुँच विस्तार हुन्छ । अबका दिनमा सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न प्रयाप्त कृषि ऋण, मल, जलको सुविधा, प्रांगारिक/जैविक मलमा जोड, कृषि भण्डारणजस्ता सुविधा उपलब्ध गराउनु पर्दछ ।

वास्तवमा आफूसँग भएको स्रोतको उपयोगबाट आर्थिक वृद्धिको सम्भावना खोज्ने हो । नेपालमा कृषि उत्पादनमा गरिएको वृद्धिबाट राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने आधार प्रशस्त बन्दछ । यो क्षेत्रको उत्पादनलाई दिगो र निरन्तर बनाउन सकिने हुनाले आम्दानीमा पनि निरन्तरता हुन्छ । रोजगारी बढ्छ, प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । देशमै रोजगारी सिर्जना भई विदेशिनेहरू अति न्यून हुन्छन् । नागरिकमा राष्ट्रप्रेम जागृत हुन्छ । नागरिक व्यक्तिगत स्वार्थमा भन्दा राष्ट्रिय स्वार्थमा लाग्ने वातावरण बन्दै जान्छ । यसका लागि कृषि उत्पादनमा लगानीको ठूलो धक्का दिन जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया