Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराजनीतिक विचारकमा सघन शल्यक्रिया

राजनीतिक विचारकमा सघन शल्यक्रिया


काठमाडौं । मुलुकको राजनीतिक अवस्था यस्तो अवस्था हो, जसले आर्थिक विकास एवं समृद्धिको खाका कोर्ने महत्वपूर्ण कार्यमा निर्णायक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिनेछ । विश्वव्यापी राजनीतिक सिद्धान्तको प्रस्तुत व्यावहारिक पक्षसँग नेपाल कुनै पनि हालतमा अछुतो रहन सक्दैन ।

भनिन्छ, अस्थिरताले अराजकता निम्त्याउँदै आर्थिक विकासको मापन गर्ने कार्यमा अवरोध सिर्जना गरी धेरै हदसम्म विकासको गजवार लगाउने कार्यलाई मात्र प्रोत्साहित गर्दै आएको राजनीतिक दर्शनले प्रमाणित गरिसकेको वर्तमान अवस्था हो । कायमी गजवारउन्मुख गन्तव्यका विचारकहरूमा सघन राजनीतिक शल्यक्रिया गरिनुपर्ने हो वा होइन भन्ने यक्षप्रश्नले भाबी नेपालको राजनीतिक, सामाजिकलगायत आर्थिक क्षेत्रको समेत दिशानिर्देश गर्नेछ भन्दा अत्युक्ति नहोला । जसका लागि सम्प्रभू नेपाली नागरिक समाजका तर्फबाट गरिने आवश्यक सघन राजनीतिक चिरफार आफैँमा नौलो प्रसङ्ग भने पक्कै पनि होइन ।

यस क्षेत्रमा गरिने शल्यक्रिया भन्नाले सुझबुझले भरिएका बालिग मताधिकार प्राप्त मतदाताहरूको समूहले निर्वाचनको समयमा आफ्नो अमूल्य एवं बाक्लो उपस्थिति दर्शाई प्रस्तुत प्रवृत्तिको रोग प्रतिरोधको लागि देश, काल परिस्थितिअनुरूप अवस्था हेरी प्रदान गरिने मताधिकारका माध्यमबाट दूषित राजनीतिक विचारकलाई चिरफार गरी सदाका लागि निमूर्लीकरण गर्नेछन् भन्ने विश्वास लिन सकिनेछ । प्रस्तुत अवस्था जुनसुकै तहको निर्वाचनजन्य व्यवहारमा पनि लागू हुनेगरेको पाइन्छ । जसका लागि सदैव नागरिक समाज अत्यन्त सचेत–संयमित तथा चेत्तनशील भएर लाग्नुपर्ने हुन्छ । अन्यथा यसको कुनै अर्थ रहँदैन भन्दा फरक नपर्ला ।

समग्र मुलुकको राष्ट्रहितको सन्दर्भमा भन्नुपर्दा प्रस्तुत व्यवहारको विकासलाई हाम्रा राजनीतिक शक्तिहरूले समयसापेक्ष उचित ढङ्गबाट व्यवहारमा उतार्न नसक्दाको परिणाम आज आएर सार्वभौमसत्तासम्मपन्न नागरिक समाज समेत बिलखबन्दमा परेको राजनीतिक परिवेश मात्र हो । प्रस्तुत प्रवृत्तिको खरावपरिसूचकको जालोबाट मुक्ति पाउने चेष्टा गर्ने हो भने, निश्चितरूपमा आगामी दिनहरूमा स्वच्छ राजनीतिक छवियुक्त विचारकको परिकल्पनालाई यस क्षेत्रको अनिवार्य आवश्यकताको मूलमन्त्र मान्दै तदअनुरूपको कार्य दक्षतालाई व्यवहारमा समेत उतार्ने जमर्को गर्नुपर्ने हुन्छ  । जसले कायम रहनआएको अनिर्णित राजनीतिक गाँठो फुकाउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्नेछ ।

प्रस्तुत कार्यको गुणयुक्त विकासको लागि गहन राजनीतिक शल्यक्रियामार्फत कार्य गर्ने हो भने मात्रै अब्बल राजनीतिक प्राथमिकताको उत्पादन हुनको साथै उल्लेख्य मात्रामा गुणात्मक सुधारको अपेक्षा राख्न सकिनेछ  । तर खेदका साथ भन्नै पर्ने हुन्छ मुलुकमा राजनीतिक स्वतन्त्रता प्राप्त भएको लगभग सात दशकभन्दा अधिक समय भुत्तान भई सक्दा समेत यसतर्फ नेपाली जनचाहनाअनुरूपको सुधारको संकेत हालसम्म पनि पूर्णरूपमा विकसित भएको अनुभूति गर्न नपाएकै कारण हरेक निर्वाचनजन्य गतिविधिको परिणामहरू अनिश्चित बन्दै जाने संकेतहरू देखा पर्न थालेका मात्र हुन् ।

परिणामतः राज्य व्यवस्थाको शासकीय स्वरूपअन्तर्गतका पुरातन राजनीतिक विचारकका पथप्रर्दशकहरूलाई अनेकन प्रकारले विस्थापित गर्ने नागरिक सोचको विकासको बोध गर्न सकिने अवस्था प्रारम्भ भएको देखिन्छ । समुलरूपमा नागरिक समाजले राजनीतिक परिवर्तनको सुखानुभूतिको आस्वादन गर्नसक्ने अवस्था कायम रहोस् भन्ने मान्यताअनुरूप नौलो सोच समर्पित समूहलाई नेतृत्वदायी भूमिका हस्तान्तरण गर्ने अवसरका रूपमा आगामी निर्वाचनलाई लिनसक्ने सम्भावनालाई भने कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

जसमा न्यूनता आएकै कारण मुलुक तथा नागरिक समाजले सोचेअनुरूपको राजनीतिक निकास प्राप्त हुन नसकेको मात्र हो । प्रस्तुत अवस्थाको उन्मुक्ति नै आम–नेपाली जनमतको चाहना समेत रहे भएको हुँदा सो उद्देश्य प्राप्तिका लागि कायमी गहन राजनीतिक विचारहरूमा सुधारउन्मुख सघन राजनीतिक चिरफारको माध्यमबाट आर्थिक विकास तथा समृद्धि प्रेमि नेपाली जनमतको लामो त्याग एवं बलिदानीबाट प्राप्त संवैधानिक मूल्य–मान्यताको समेत रक्षा गर्न सकिनेछ ।

उक्त कार्यको पूर्ण सफलताको लागि राजनीतिक कैची चलाउने उपयुक्त अवसर भनेको आगामी २०७९ मंसिर ४ गतेका दिनलाई लिन सकिन्छ । जसका लागि स्वतीक चिह्न अङ्कित औजारले गहनरूपमा चिरफार गर्दै विवेकशील एवं जागरणउन्मुख तत्परताका कारण सम्बद्ध क्षेत्रमा कायम रहँदै आएका दुषित राजनीतिक विचार तथा असम्जस्य व्यवहारलाई सहजै निदान गरी नौलो विचार तथा आर्थिक समृद्धिका संवाहक तत्वलाई मुलुकको शासकीय स्वरूपमा पदासिन गराउनकै लागि सम्प्रभू नेपाली जनमतका जाँगरिलाहातहरू अवश्य पनि आ–आफ्नो कर्मक्षेत्रमा सदैव लाग्नेछन् भन्ने विश्वास लिन सकिनेछ  ।

परिवर्तनउन्मुख प्रस्तुत प्रवृत्तिको चाहना किन रहन्छ भने राज्यपक्षबाट हुनेगरेका नियन्त्रित व्यवहारले कुनै पक्षलाई राहतको अनुभूति गरे पनि अधिकांश मात्रामा रहेका ठूलो जनसमुदायलाई कुनै कारणवश आहत उत्पन्न गराउन सक्ने परिस्थितिको निर्माण हुनगएमा निश्चितरूपमा द्वन्द्वगत मनोदशाको शुभारम्भ हुने तथ्यलाई कुनै पनि हालतमा नौलो मान्न सकिँदैन । जसलाई सन्तुलित गर्न नागरिक समाजले निर्देशित व्यवहारलाई पृथक तवरबाट सञ्चालनका लागि आवश्यक मात्रामा दबाब सिर्जना गर्नुपर्ने हुन्छ । जुन राजनीतिक परिवर्तनको उद्देश्य समेत हो । यसका अतिरिक्त द्रोस्रो अवस्था भनेको निश्चितरूपमा आसन्न निर्वाचन प्रणाली नै हो यसमा हामीहरू कसैको पनि भिन्न मत रहन सक्दैन ।

विपरित अवस्था तयार भई राजनीतिक विचारमा संकट उत्पन्न भए जसको नकारात्मक प्रभाव प्रत्यक्ष रूपमा नागरिक समाज लगायत सामाजिक जनजिविका साथै आर्थिक क्षेत्रका हरेक पक्षहरूमा रहने गर्दछ । जुन अवस्थाबाट नेपालले हालसम्म पनि सहजै पार पाऊन नसकेकै कारण राजनीति प्रति नेपालीजनमतको विश्वास हट्ने हो कि भन्ने आशंङ्का उत्पन्न भएको देखिन्छ  । नमिठो भएता पनि हाम्रो राजनीतिक यथार्थपरक नियती भनेको यहि नै हो ।

किनकि हरेक राजनीतिक परिवर्तन पश्चात समृद्धिको नारा बोकेका मुलुकका राजनीतिक शक्तिसंग प्रष्ट विचार तथा कार्यान्वयन क्षमताको अभाव सधै नै खड्किएको पाईयो । परिणामत नेपाली सामाजिक परिवेशमा आफ्नो राजनीतिक छवि धुमित हुने हो कि भन्ने भय सम्बद्ध राजनीतिक समुहमा सधैं नै कायम रहेको पाईयो ।

जसको प्रतिनिधिमुलक पात्रको रूपमा आम मतदाताको चाहना स्वतन्त्र उम्मेदवार प्रतिको रोजाईलाई कम आकंन गर्न मिल्दैन । प्रस्तुत तथ्यलाई मनन गर्दै राजनीतिक विचारकहरूमा सघन शल्यक्रिया गर्नुपर्ने भनेकै नौलो तथा नयॉ राजनीतिक सोचको चाहनालाई प्रतिविम्वित गरेको मान्दा त्यती फरक नपर्ला । सम्बद्ध क्षेत्रमा जब परिवर्तनको रूप मुखरित हुन्छ तत्पश्चात नीति तथा नेतृत्वदायी भूमिकामा आमूल परिवर्तनको सुत्रपात हुनेछ भनि ठोकुवा गर्न सकिन्छ  ।

तात्विक रूपमा जनचाहनानुसार सुधारको लक्षण नदेखिएकै कारण नेपालीजनमतमा निराशाका कालाबादलहरू मडारीन गई आगामी निर्वाचन मार्फत सघन राजनीतिक शल्कक्रिया गर्दै राष्ट्रलाई नयॉ चरणमा पदार्पण गराउने चाहना स्वरूप मतदान प्रक्रियाका लागि आतुर भएको देखिन्छ । तदुपरान्त प्राप्त दिशानिर्देश अनुरूपको ब्यवहारलाई नेपाली राजनीतिमा आत्मसाथ गर्ने हो भने, मुलुकले अग्रगामी छर्लाङ्ग मार्ला कि भन्ने आशालिन सकिनेछ । किनभने लोकतन्त्र भनेको जनविश्वासमा आधारित विधीको शासन निर्धारण गर्ने पद्धतीय ब्यवहार समेत हो भन्ने सैद्धान्तिक राजनीतिको मुलमन्त्रलाई आजको परिवेशमा हामीहरू कसैले पनि भुल्न मिल्दैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x