Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्रमा आर्थिक मन्दीको समस्या

अर्थतन्त्रमा आर्थिक मन्दीको समस्या


काठमाडौं । अर्थतन्त्रमा आर्थिक मन्दीलाई राम्रो मानिँदैन । मन्दी भन्नाले देशको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्था हो । उद्योगधन्दा कलकारखानाहरूले गति लिन सकेका हुँदैनन् । केही उत्पादित वस्तु पनि बिक्री नभएर थन्किएर रहेका हुन्छन् । बजारमा वस्तुको माग हुँदैन । कारण जनताको हातमा पैसा हुँदैन । पैसा नभएपछि दैनिकी चलाउन पनि मुस्किल हुन्छ । अलिअलि भएको पैसा पनि उपभोगमा नै खर्च भएको हुन्छ । रकमको अभावमा उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह हुँदैन । बेरोजगारी बढेको हुन्छ । लगानी नै नभएपछि उत्पादन हुने कुरै भएन । उत्पादन नै नभएपछि आम्दानी पनि हुने भएन । आम्दानी नभएपछि बचत नहुने नै भयो । जहाँ बचत हुँदैन त्यहाँ लगानीको प्रश्न नै आउँदैन । यसरी आर्थिक मन्दीले देशको अर्थतन्त्रलाई अस्तव्यस्त बनाएको हुन्छ र एकप्रकारको अर्थतन्त्रको गतिहीनताको चक्र बनेको हुन्छ । त्यसैले यसप्रकारको आर्थिक अवस्था देशमा आउन नपाओस् भनेर सबै देशहरू सजग भएका हुन्छन् ।

आर्थिक मन्दीमा मूलतः मानिसको क्रयशक्ति घटेको हुन्छ किनभने बजारमा पैसा हुँदैन र बजार सुनसान अवस्थामा रहेको हुन्छ । यसको अर्थ मानिसको आम्दानी घटेको हुन्छ तर अतिआवश्यक आधारभूत वस्तुमा खर्च घटाउन नसक्ने भएकोले मानिसहरू आर्थिक समस्यामा परेका हुन्छन् । मानिसको हातमा पैसा नहुने तर खर्च नगरी नहुने अवस्था सिर्जना हुनु भनेको नै आर्थिक मन्दीको संकेत हो । अहिले नेपालमा यस्तै अवस्था त आउने होइन भनेर चिन्ता लिन थालिएको पनि छ ।

आर्थिक मन्दी यस्तो अवस्था हो कहिलेकाहीँ विशेष कारण नभएर पनि आर्थिक मन्दी आउन सक्ने हुन्छ । त्यसकारण राज्यले यस्ता कुरामा विशेष ध्यान पु-याउनु पर्दछ । आर्थिक मन्दी आउनुपूर्व नै विशेष सतर्कता अपनाउनु पर्दछ । पहिले नै आकलन गर्न सकियो भने यसको जोखिम न्यूनीकरण गर्न सकिने हुन्छ ।

आर्थिक मन्दी खास गरेर दुई कारणबाट सिर्जना हुने गर्दछ । एउटा बाह्य क्षेत्रबाट पर्ने दबाब हो भने अर्को आन्तरिक रूपबाट पर्नसक्ने दबाब । अहिले नेपालको अर्थतन्त्रमा दुवैतिरबाट दबाब सिर्जना भएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा नै मूल्यवृद्धि हुनु, कोभिडको सन्त्रास र रुस–युक्रेन युद्धबाट सिर्जित विभिन्न समस्या । आन्तरिकरूपमा हेर्ने हो भने युवा जनशक्ति विदेश पलायन हुनु, आयातमा वृद्धि र निर्यातमा कमी हुनु, आन्तरिक तथा बाह्य ऋण वृद्धि हुनु, देशको मुद्राको क्रयशक्ति घट्दै जानु, शोधनान्तर स्थिति देशको पक्षमा नहुनु, उद्योग व्यवसाय राम्रोसँग सञ्चालन हुन नसक्दा बेरोजगारी बढ्दै जानु र कतिपय कामदारहरू रोजगगारीबाट बाहिरिनुपर्ने अवस्था देखा पर्नुजस्ता कारणहरू पनि आर्थिक मन्दी निम्त्याउने कारक तत्व हुन सक्दछन् ।

समग्रमा भन्नुपर्दा आर्थिक मन्दी भनेको आर्थिक क्रियाकलापमा ह्रास आउनु हो । आर्थिक गतिविधिमा कमी आएपछि व्यक्तिसँग पैसा हुँदैन । यस्तोमा उसले एनकेन कम खर्चमा जीवन चलाएको हुन्छ । कम खर्च गर्दा नगद प्रवाह एकदम न्यून हुन्छ । आम्दानीका स्रोतहरू निकै खुम्चिएका हुन्छन् । जुन स्रोतहरूले आयआर्जन गर्ने क्रियाकलाप अथवा लगानीमा योगदान गर्न सकेका हुँदैनन् । त्यसैले आर्थिक मन्दीबाट व्यक्तिमात्र नभएर राज्य नै डराउनुपर्ने हुनआउँछ र निराकरणको लागि समयमा नै आवश्यक सुधारका कार्यक्रमहरू ल्याउनु पर्दछ ।

नेपालको सन्दर्भमा भन्ने हो भने आर्थिक गतिविधिमा शिथिलता आएको २०७२ सालदेखि नै हो । त्यस समयमा भूकम्पले देशको अर्थतन्त्रलाई कमजोर बनायो । भूकम्पपछि पनि कोरोनाले झनै समस्या ल्यायो । ठूलो धनजनको नोक्सानी भयो । उद्योग व्यवसाय सञ्चालनमा आउन सकेनन् । मानिसहरू बन्दबन्दीमा रहे । घरबाटै बाहिर निस्कन नपाएपछि आयआर्जन गर्ने मार्ग नै बन्द भए । आर्थिक गतिविधि सिर्जना गर्ने माध्यम भनेको पैसा हो । त्यसकै स्रोत सुकेपछि मानिसलाई जीवन धान्न कठिन हुने नै भयो । सरकारले राहतका कार्यक्रम ल्याउनु प-यो । जीवनरक्षाको लागि सरकारको ढुकुटी प्रवाह गर्नुपर्दा विकासनिर्माणका कार्यहरू ओझेलमा पर्न गए । अरु सबै कुरा छोडेर मानिसलाई बचाउनु नै ठूलो कुरो थियो । त्यसकारण राज्यको साधन, स्रोत र सबै प्रयास कोभिड नियन्त्रणतर्फमा नै लगाउनु प-यो । यसरी नेपालको अर्थतन्त्रलाई कमजोर बनाउने मुख्य कारक तत्वमा कोरोनालाई लिन सकिन्छ । यसैका बाछिटाले अर्थतन्त्रका विभिन्न अवयवहरूमा अहिले पनि असर पारिरहेको अवस्था देखिन्छ ।

अर्थतन्त्रको कुरा गर्दा उत्पादन, वितरण र उपभोग एक–आपसमा सम्बन्धित भएका हुन्छन् र यिनीहरूको श्रृंखलाबद्ध निरन्तरताले अर्थतन्त्रलाई मजबुत बनाएको हुन्छ । जब यिनीहरूको श्रृंखलामा अवरोध आउँछ अनि मन्दी देखा पर्दछ । देशमा उद्योग व्यवसाय फस्टाउँदै गएको अवस्थामा आन्तरिक आवश्यकता परिपूर्ति गरेर वस्तु तथा सेवा विदेश निर्यात गर्न सकिने हुन्छ र देशले विदेशी मुद्रा आर्जन गर्न सकेको हुन्छ । निजी क्षेत्रले राज्यलाई राजस्व बुझाएको पनि हुन्छ । जुन राजस्वले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता सामाजिक सेवाको विकास गर्न सकिन्छ । तर, मन्दीको अवस्थामा भने सरकारी एबव निजी क्षेत्रले गतिलिन नसक्दा देशको अर्थतन्त्र कमजोर हुँदै गएको हुन्छ । अहिले यस्तो स्थिति आउँछ कि भन्ने आशंका गर्न थालिएको छ ।

अर्को कुरा वस्तु तथा सेवा उत्पादन गरेर मात्र हुँदैन । यसको न्यायोजित वितरण पनि हुनु पर्दछ । यदि न्यायोचित वितरणको अभाव छ भने उत्पादित वस्तु तथा सेवाको प्रभावकारिता हुँदैन । उत्पादित सामान महँगो हुन्छन् र गुणस्तरीय हुँदैनन् भने जनताले खरिद गर्दैनन् । जहाँ सस्तो र गुणस्तरीय उत्पादन सर्वसुलभ हुन्छ त्यस अवस्थामा सामानले राम्रो बजार लिएको हुन्छ । यसको लागि जनताको हातमा पैसा हुनुपर्दछ । पैसा छ भने मागको वृद्धि हुन्छ । माग वृद्धि हुनु भनेको जनताको क्रयशक्ति बढ्नु हो । क्रयशक्ति बढ्दा उद्योग धन्दा कलकारखाना फस्टाउँदै गएका हुन्छन् । यो परिस्थितिमा उद्योगी व्यवसायी र जनता दुवै सन्तुष्ट भएका हुन्छन् । अर्थतन्त्रको लागि यो सकारात्मक अवस्था हो ।

उत्पादन र वितरणपछि उपभोगले ठाउँ लिएको हुन्छ । उत्पादन मात्र गरेर हुँदैन । उत्पादित वस्तुको राम्रोसँग वितरण पनि हुनुपर्दछ । वितरण भन्ने कुरा जनताको क्रयशक्तिमा निर्भर रहेको हुन्छ । जनताको हातमा पैसा छैन भने उसले वस्तु तथा सेवा खरिद गर्न सकेको हुँदैन । अनि वस्तु उत्पादन र वितरणको के अर्थ हुन्छ र ?, यदि जनताले खरिद गर्न सक्दैनन् भने । त्यसकारण देशको अर्थतन्त्रलाई प्रभावकारी बनाउने हो भने यी तीनवटा अवयवहरूको श्रृंखलालाई अवरुद्ध हुन दिनु हुन्न र उपयुक्त किसिमले सञ्चालन गर्नु पर्दछ ।

निश्चय नै अहिले नेपालमा यी अवयवहरू राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । आन्तरिक माग बढ्न नसकेको हुँदा उत्पादनको लागत महँगो पर्न गएको छ र वस्तुको मूल्य पनि बढ्न गएको छ । बस्तुको मूल्य बढेको अवस्थामा वितरण प्रणाली प्रभावकारी हुन सक्दैन । अनि उपभोगमा असर पर्ने नै भइहाल्यो । अहिले नेपालको अर्थतन्त्र यीनै कुरामा अल्झिएको हुँदा के नेपालमा मन्दी आउन लागेको हो भन्न पनि थालिएको छ । तर, अहिले नेपालको अर्थतन्त्र श्रीलंका तथा पाकिस्तानको जस्तो भई सकेको छैन । तर सचेत भने हुनै पर्दछ ।

नेपालको आफ्नै उत्पादन ज्यादै न्यून छ र अधिकांश वस्तु तथा सेवाको लागि बाह्य मुलुकको मुख ताक्नु पर्दछ । राज्यले प्राप्त गर्ने राजस्व पनि घट्दै गएको छ । उठेको राजस्वले साधारण खर्च पनि धान्न धौधौ परिरहेको छ । यस अवस्थामा विकासको लागि राजस्वको योगदान हुने कुरै भएर । बाह्य ऋणको साँवाब्याज भुक्तानी गर्न समस्या भइरहेको छ । साधारण खर्च धान्नको लागि पनि आन्तरिक ऋण उठाउनुपर्ने अवस्था छ । अहिले आम्दानीभन्दा खर्च बढी भएको अवस्था छ । सरकारी ढुकुटी ऋणात्मक हुँदा केन्द्रीय कोषमा दबाब पर्न गएको छ । आम्दानी र खर्चमा सन्तुलन कायम गर्न वैदेशिक अनुदान तथा ऋण र आन्तरिक ऋण उठाएर भए पनि अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने आवश्यकता देखिएको छ । यसरी नै देशको अर्थतन्त्र कमजोर हुँदै जाने हो भने आर्थिक मन्दी आउन पनि सक्ने हुन्छ । त्यसकारण अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक क्रियाकलापमा तीव्रता दिनु पर्दछ ।

वर्तमान अवस्थामा पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । हालसम्मको तथ्यांकअनुसार २४ प्रतिशत मात्र खर्च भएको देखिन्छ । साधारण खर्च र ऋण सहायता बढ्दै जानु भनेको अर्थतन्त्र कमजोर भएको संकेत हो । त्यसैले यी विषयहरूमा सुधार गरेर अर्थतन्त्रलाई सुदृढीकरण गर्दै जानु पर्दछ । अन्यथा देश आर्थिक मन्दीको चपेटामा पर्न पनि सक्ने हुन्छ जसरी श्रीलंका र पाकिस्तानले आर्थिक संकट सामना गरिरहनुपरेको छ । यी दुई देशको अवस्थालाई मात्र बुझ्न सकियो भने पनि धेरै पाठ सिक्न सकिन्छ । आर्थिक मन्दी आउन नदिनको लागि सरकारको ध्यान त्यसैतर्फ केन्द्रित हुनु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया