Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमानान्तरसासेक परियोजनाको लागि ३९ अर्ब ऋण लिने

सासेक परियोजनाको लागि ३९ अर्ब ऋण लिने


दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत राजमार्ग सुधार आयोजना सञ्चालन गर्न सरकारले ३९ अर्ब रुपैयाँ (३०० मिलियन अमेरिकी डलर) भन्दा बढी ऋण लिने भएको छ । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा ३९ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयाता लिन लागेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सासेक परियोजनाको लागि ऋण आवश्यक परेको भन्दै अर्थ मन्त्रालयले राखेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेको बताइन् । सासेक परियोजनाअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री शर्माले एसियाली विकास बैंकको छ अर्ब ५५ करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण समेत स्वीकार गरेको बताइन् । भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायतको रूपमा प्राप्त हुने छ अर्ब ५५ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो । सरकारले भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत भन्सार तथा लजिस्टिक्स सेवामा प्रयोग हुने साधन, उपकरण र पूर्वाधारको न्यूनतम प्राविधिक मापदण्ड निर्धारण गर्ने तय गर्दै आएको छ भने वस्तुको ढुवानी, भण्डारण र वितरणसम्बन्धी कामलाई सरल बनाउने बत(ाएको छ ।

यस्तै मन्त्रिपरिषद्ले अर्थको मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) जिल्लाको जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले पुष्पलाल (मध्यपहाडी राजर्माग विस्तार, बेपत्ता आयोगको कार्यविधि थप गर्नेलगायतका प्रस्तावलाई स्वीकृति दिएको छ । पुष्पलाल (मध्यपहाडी राजर्माग आयोजनाअन्तर्गत सडक सीमारेखाभित्र पर्ने कास्की जिल्लाको रुढीखोला–भैँसे सडकखण्डका घर÷टहराहरू हटाउन स्वीकृति दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन अयाोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल पुस मासन्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने भएको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय थाइल्याण्डको बैंकमा हुने चौथो चरणको उच्च तहको बहुभाषिक शिक्षा कार्यक्रम र सातौँ चरणको अन्तर्राष्ट्रिय भाषा र शिक्षा’ सम्मेलन विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमरीलाई सहभागिताको लागि जान दिने भएको छ । साथै निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै सासेकअन्तर्गत नेपालभित्रका आयोजनाहरूमा निजगढ–पथलैया सडकलाई चार लेनको बनाउनेसहित काठमाडौं–तराई द्रुतमार्ग, सूर्यविनायक–धुलिखेल चार लेनमा, मुग्लिङ–नौबीसे–काठमाडौं, मुग्लिङ–पोखरा, पूर्व–पश्चिम लोकमार्ग, नारायणगढ–मुग्लिन र पथलैया–वीरगञ्ज सडकको स्तरोन्नतिलगायत छन् । यी आयोजना सार्वजनिक–निजी–साझेदारी, नेपाल सरकार, विश्व बैंक, एसियाली बैंक, जापान, चीनलगायतको लगानीमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सासेकअन्तर्गत नेपालभित्र यातायात, व्यापार सहजीकरण र ऊर्जासम्बन्धी ३७ वटा परियोजना राखिएको छ । दक्षिण एसियामा सासेक परियोजनाअन्तर्गत नेपालसहित भारत, बंगलादेश, भुटान चारदेशीय परियोजना समावेश गरिएको छ । साथै ती मुलुकहरूमा सो परियोजना सञ्चालन हुनेछ ।


क्याटेगोरी : समानान्तर

तपाईको प्रतिक्रिया