Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाँगेलडाँडा विमानस्थलमा उडान गर्नका लागि वायुसेवा निगमसँग सम्झौता

काँगेलडाँडा विमानस्थलमा उडान गर्नका लागि वायुसेवा निगमसँग सम्झौता


सोलुखुम्बु ।
सोलुखुम्बुमा रहेको काँगेलडाँडा विमानस्थलमा मंसिर २५ गतेदेखि हरेक हप्ताको मंगलबार नियमित उडान हुने भएको छ । प्रत्येक हप्ताको मंगलबार नियमित उडान गर्नेगरी थुलृुङदुधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष असिम राई र नेपाल वायु सेवा निगमको तर्फबाट अख्तियारप्राप्त वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालबीच १४ बुँदे सर्तमा हस्ताक्षर भएको हो । दुई पक्षबीच उडान सेवा सञ्चालनबारे हस्ताक्षर भएको गाउँपालिका प्रवक्ता भुपालसिं राईले जानकारी दिए ।

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईको उपस्थितिमा भएको सम्झौतामा काठमाडौँ–काँगेलडाँडा–काठमाडौँको लागि १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्नेछ । जसको लागि गाउँपालिकाले सम्झौताअनुसार दश लाख रूपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने छ । यात्रुको चापलाई हेरेर हप्ताको ६ दिन उडान गर्न सकिने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । विगत लामो समयदेखि गौचरणमा परिणत भएको उक्त विमानस्थल सञ्चालनको लागि गाउँपालिका अध्यक्ष असिम राई, संघीय सांसद हेमकुमार राईसहितका जनप्रतिनिधिले बारम्बार मन्त्रालय र विभागको ध्यानकर्षण गराएका थिए ।

यो विमानस्थलको निरीक्षण गर्दै पर्यटन मन्त्री योगेशकुमार भट्टराईले पनि मंसिर महिनाभित्रै उडान सुचारु गर्ने बताएका थिए । विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो तथा खोटाङको माथिल्लो क्षेत्रका वृद्धवृद्धा र बिरामीहरूलाई समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नागरिकले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै गत कात्तिक २१ संस्कृति पर्यटन मन्त्री योेगेश भट्टराईसहितको टोलीले निरीक्षण गरी सञ्चालनको तयारी अगाडि बढाइएको थियो । सबैभन्दा बढी विमानस्थल रहेको सोलुखुम्बुमा योसहित नियमित उडान हुने विमानस्थलको संख्या तीन हुनेछ । जिल्लामा चारवटा विमानस्थल रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया