Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने


काठमाडौं ।
कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । गौचरनको रूपमा परिणत भएको उक्त विमानस्थलको विस्तार र क्षमता विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको रोहवरमा सोमबार सिंहदरबारमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधारा चाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो ।

सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा पर्यटनमन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुसीको विषय भएको बताए । उनले विमानस्थल विकासको सम्झौताको भावनाबमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आइपरेमा संघीय सरकारले सहजीकरण गर्ने स्पष्ट पारे ।

पर्यटनमन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रसंग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीतिअनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताए । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवर्द्धनका हिसाबले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य भएकाले तीन तहका सरकारको साझेदारीमा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताए ।

क्यानका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय हवाइ मापदण्डअनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजनाअन्तर्गत विकास गरिने जानकारी दिए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल प्रदेशको समृद्धिले नै मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएकाले महेन्द्रनगर विमानस्थल रणनीतिक महत्वको आयोजना भएको बताए । समझदारी पत्रअनुसार प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने संघीय सरकारको तर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

महेन्द्रनगर विमानस्थलको हालको धावनमार्गको लम्बाइ कम्तीमा एक हजार छ सय मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई ‘थ्रिसी क्याटोगोरी’स्तरको आधुनिक सुविधासम्पन्न विमानस्थलमा स्तरोन्नति गरिनेछ । क्यानले सो कार्यका लागि आवश्यक सहयोग, समन्वय र अनुगमन गर्नेछ । समझदारीको कार्यान्वयनमा कुनै समस्या आएमा पर्यटन मन्त्रालयले समन्वय गरी विवाद समाधान गर्नेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया