नेपाल–चीन नाका खुलाउने विषय अन्योल
व्यवसायीद्वारा अमेरिकासँगको सम्बन्धले नाका नखुलेको आशंका
काठमाडौं ।
कोभिडको कारण देखाउँदै चिनियाँ पक्षले बन्द गरेको नेपाल–चीन नाका १४ महिनासम्म पनि सहज हुनसकेको छैन । अझै निर्यात व्यापार भने पूर्ण रुपले बन्द छ । यसैबीच चिनियाँ नाका किन बन्द गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी सरकारसँग छैन । चिनियाँ पक्षले कोरोनाको कारण देखाए पनि नेपाल–चीन व्यापारिक नाका (रसुवा/तातोपानी) सञ्चालन हुन नसकेको विषयमा चिनियाँ पक्षले नेपाली पक्षलाई कुनै आधिकारिक जानकारी समेत नदिएको पाइएको छ । कोरोनाबाट बच्ने सम्पूर्ण उपाय अवलम्बन गरी व्यापार गर्ने नेपाली व्यवसायीको मागप्रति चिनियाँ अधिकारीहरू भने बेवास्ता गर्दै आएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ नाका किन बन्द गरियो र कहिले खुलाउने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी नआएको जनाएको छ । मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले पछिल्लो समय पहिरो, ल्होसारलगायतको कारण देखाँउदै नेपाल–चीन व्यापारिक नाका चिनियाँ पक्षले बन्द गरे पनि निर्यातको लागि कहिले खोल्ने भन्ने विषयमा हालसम्म कुनै जानकारी उता पक्षले नदिएको बताइन् ।
यस्तै उनले निर्यातका लागि सीमामा रहेका नाकाहरू कहिले खुल्छ भन्ने विषयमा केही पनि भन्न नसक्ने समेत बताइन् । ‘चिनियाँ पक्षले नाका खुलाउनेबारे कुनै आधिकारिक जानकारी नदिँदा नाका कहिले खुल्छ भन्नसक्ने अवस्था छैन’, प्रवक्ता केसीले आर्थिक दैनिकसँग भनिन्, ‘त्यसैले गर्दा नाका सञ्चालन अझ विशेष गरी निर्यात कहिले हुन्छ भन्ने विषय अन्यौल नै रहेको छ । चाँडै नै खुल्ला ।’
यस्तै मन्त्रालयजस्तै व्यवसायी तथा नेपालका व्यावसायिक संस्थाहरू पनि निर्यातका लागि चीनले नाका कहिले खोल्ने भन्ने विषयमा बेखबर रहेको बताउँछन् । हिमालय सीमापारि वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले चिनियाँ नाका कहिले खुल्ने/कहिले नखुल्ने विषयमा आफूहरू जानकार नरहेको बताए । ‘नाकाको अवरोधको विषयमा सरकारसँग जवाफ माग गरे पनि सो विषयमा सरकारी अधिकारीहरूले आफूहरूलाई कुनै स्पष्ट जानकारी दिएका छैनन्’, उनले भने, ‘नाका खुल्ने/नखुल्ने विषय अन्यौलमा हुँदा निर्यात व्यवसायको स्थिति अत्यन्तै नाजुक रहेको छ ।’
उनले चिनियाँ हेपाहा प्रवृत्ति हो भन्ने प्रश्नमा चाहिँ त्यसो भन्न नमिल्ने बताए । ‘दुई मुलुकका सरकारसँग जोडिएको विषय भएको हुँदा हेपाहा प्रवृत्ति हो/होइन भन्ने निक्र्योल नगरौँ विस्तारै समस्या समाधान होला’, अध्यक्ष पौडेलले आर्थिक दैनिकसँग भने, ‘हाल भने निर्यातको लागि हवाइ र जलमार्ग प्रयोग गरेका छौँ, त्यसलाई गर्दा सीमित निर्यात व्यापार चीनसँग भएको छ ।’
निर्यात व्यापारको लागि नेपाल–चीन सडक मार्ग खुला नभएसँगै बाध्यात्मक तवरले नेपाली व्यवसायीले हवाइ र जलमार्ग प्रयोग गरेका हुन् । यसैबीच परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने चीनले अघोषित रुपमा नाकाबन्दी गरेको बताउँदै आएका छन् । नेपाली पक्षले पटक–पटक नाका खोल्नलाई गरेको आग्रहलाई भने चीनले बेवास्ता गरेसँगै उनीहरूले यसलाई अघोषित नाकाबन्दी भनेका हुन् ।
चिनियाँ अधिकारीहरूले नेपाल–चीनबीचका दुईवटा व्यापारिक नाका सञ्चालनमा नल्याउनुमा भने राजनीतिक कारण रहेको सरोकारावाला अधिकारीहरू अर्थात् विशेष गरी व्यवसायीले बताएका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिकासँग भएको विविध छलफलका कारण चीनले नेपालसँगको व्यापारिक नाका सञ्चालनलाई बेवास्ता गर्दै आएको केही व्यवसायीहरूको आशंका रहेको छ । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदारी चीनले यसरी नेपालसँगको व्यापारलाई अघोषित रुपमा बन्द गर्नुले विभिन्न शंका/अपशंका उब्जने प्रशस्त ठाउँहरू रहेको छ ।
नेपाल–चीनबीच नौवटा नाकाहरू रहेको भए पनि व्यापारिक प्रयोजनको लागि बढी प्रचलनमा भएका भने तातोपानी र रसुवा नाका हुन् । ती नाकाहरूबाट नेपालबाट जडीबुटी, हस्तकला सामग्री, गलैँचा, फुटवेयर, चिया, मूर्ति तथा भाँडाजन्य सामग्री निर्यात गरिन्छ भने चीनबाट स्याउ, लसुन, तयारी पोशाक, कपासजन्य सामग्री तथा विद्युतीय सामग्री आयात गरिन्छ । नेपाली व्यवसायीकै पहलमा आयातलाई सीमित रुपमा चिनियाँ पक्षले भने खुला गरेको छ । हाल दैनिक रुपमा दुईवटा नाकाबाट दर्जनभन्दा बढी कन्टेनरहरू नेपालतर्फ आउने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया