Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो


काठमाडौं । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा हुन लागेको एक्स्पोको सबै तयारी पूरा भएको एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जानकारी दिएको हो ।

एक्स्पोको बिहीबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नेछन् । बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पोस्थल भने खुल्ला गरिने इभेन्ट सोलुसनले जनाएको छ । एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेजलगायतका सेवा तथा उत्पादन उपलब्ध गराउनेछन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए ।

एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने बताइएको छ । तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेसन डेक्समा उपलब्ध गराउनुपर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजी पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’को आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया