भिरकोट–झुले–छौँडे सडकको स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती !
दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाको मुख्य ग्रामीण सडक भिरकोट–कालिदह–झुले–छौँडे सडक खुलेको तीन दशक बितिसकेको छ । खनेको तीन दशक बिते पनि अझै सडकको स्तरोन्नति हुन भने सकेको छैन । यो सडक हुँदै दैनिक दर्जनौँ सवारी अहिले पनि आवतजावत गर्छन् तर यस सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सडक विभागले ध्यान दिएको छैन । यहाँको मुख्य ग्रामीण राजमार्गको रूपमा रहेको यो सडक जीर्ण अवस्थामा पुगेको छ ।
स्थानीयका अनुसार वर्षाको समयमा सो सडकमा सवारीसाधन सञ्चालन हुन सक्दैनन् । सडक निर्माण भएको तीस वर्ष बितिसक्दा पनि सडकमा ग्राभेल र सोलिङसम्म गरिएको छैन । स्थानीय सरकार गाउँ छिरेको पनि पाँच वर्ष बितिसक्यो तर स्थानीय सरकारका जनप्रतिनिधिले पनि यस सडकलाई स्तरोन्नति गर्न चासो नदेखाएका कारण केन्द्र र प्रदेश सरकारले समेत सडकलाई बजेट वितरण गर्न कन्जुस्याइँ गर्दै आएको छ । जिल्लामा यसपछि खनिएका दर्जनौँ सडक कालोपत्रे भइसकेका छन् । कतिपय सडकको कालोपत्रे सुरु भएको छ तर यस सडकको स्तरोन्नति गर्न कसैले चासो नदिँदा लामो समयदेखि जोखिम मोलेर सवारी ओहोरदोहोर गर्दै आएका छन् भने यात्रुले सास्ती खेपिरहेका छन् ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्ने यस सडकको यात्रा गर्दा तामाकोशी गाउँपालिकाको सबै वडाका र बैतेश्वर गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयले सास्ती खेपिरहेका छन् । जिल्लाका यस सडकसँगै खनिएका चरीकोट–सिगटी, मुडे–शैलुङ, तामाकोसी–मेलुङ, हाँवा–च्यामा, नाम्दु–क्षेत्रपा, बुस्ती–पुतलीकाठलगायत दर्जनौँ सडक कालोपत्र भइरहँदा तामाकोसी गाउँपालिकाको मुख्य सडक कालिदह–झुले छौँडे सडक भने अझै कालोपत्रे हुन नसकेको तामाकोशी गाउँपालिका वडा नम्बर–१ भिरकोटका स्थानीय कुमार बस्नेतले दुखेसो गरे । स्वर्गीय नेता भिम बहादुर तामाङको पहलमा २०४२ सालमा उक्त सडकको ट्र्याक खोलिएको थियो । कतिपय स्थानीय तहरूले आफैँ बजेट बिनियोजन गरेर समेत सडक कालोपत्रे गरिरहेका छन् । तर तिनै तहका सरकारको बेवास्ताका कारण जिल्लाकै पुरानो ग्रामीण सडकको रूपमा चिनिने कालिदह–गैरिमुदी हुँदै झुले छौडे जाने सडकको भने अझै कालोपत्रेको प्रक्रियामा समेत पुग्न सकेको छैन ।
तामाकोसी गाउँपालिका १ भिरकोटबाट बैतेश्वर गाउँपालिकाको गैरिमुदी हुँदै तामाकोशीको वडा नम्बर २, ३, ५ र ६ वडा हुँदै जिरीसम्म पुगिने गरी यो सडकको ट्र्याक खोलिएको थियो । सडक स्तरोन्नतिको लागि पटक–पटक डीपीआर गरिए पनि सडक कालोपत्रेको लागि प्रक्रिया समेत अगाडि बढ्न नसकेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार यो सडकमा सार्वजनिक यातायात चल्न थालेको नै १५ वर्ष भइसकेको छ तर सडकको अवस्था भने उस्तै छ । यो सडकलाई वर्षेनी सरकारले १५/२० लाख रूपैयाँ छुट्याउने गरे पनि उक्त बजेटले सडक भत्काउनेभन्दा अरु काम हुन नसकेको भिरकोटका स्थानीय सुजन काफ्लेले बताए ।
सडककै कारण सवारीसाधन नचलेपछि स्थानीयहरूले उत्पादन गरेका तरकारीलगायत अन्नबालीहरू बजारसम्म पु-याउन समेत सास्ती परको छ । यस्तै विभिन्न कामले सदरमुकाम आउने स्थानीयहरू यातायातकै लागि घण्टौँ हिँड्न बाध्य भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया