सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
तुलसीपुर । वि.सं. २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।
कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । “मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने ।
त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले राससलाई बताए।
विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । “सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ”, उनले भने, “अहिले चार सय ५० विद्यार्थी छन् ।” प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् ।
घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत हुन् । उनीसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाकेका थिए । केही समय उनले निःशुल्क काम गरे । “सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाए”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, “छ महिनापछि रू. एक हजार तलब तोकिदिएका थियौँ ।”
“नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ”, अभिभावक निर्मल परियारले भने ।
उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे ।
“उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्”, निरीक्षक भण्डारले भने, “विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।” आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन् ।
घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । “अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ”, विद्यार्थी लीला चलाउनेले भने, “अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।”
क्याटेगोरी : पालिका समाचार, उप महानगर
ताजा अपडेट
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया