Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारकाठमाडौं महानगरपालिकाले सिप मेला आयोजना गर्ने

काठमाडौं महानगरपालिकाले सिप मेला आयोजना गर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले एक महिने ‘सिप मेला’ आयोजन गर्ने भएको छ । महानगरको गौरव योजनाअन्तर्गत् ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’अन्तर्गत वैशाख १९ गतेदेखि सिप मेला गर्न लागेको हो ।

नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँगको सहकार्य मेला आयोजना गरिएको महानगरले जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी महानगरको सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भइसकेको छ । विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार टुँडिखेलमा आयोजना हुने ‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुनेछ । महानगरले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरलाई बुझाउनुपर्नेछ ।

मेलाले छरिएर रहेका सिपलाई एकीकृत गर्ने र सिप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पु¥याउने लक्ष्य पूरा गराउन मद्दत गर्ने बताइएको छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन पाउनेछन् । १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर पाँच हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो ।

तालिममा १० क्षेत्र निर्धारण गरिएको छ । निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एन्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधाअन्तर्गत चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरीसम्बन्धी, सूचना प्रविधिअन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा जडानसम्बन्धी हुनेछ । यसैगरी हलुका सवारीसाधन प्रशिक्षण विधामा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर रिपेयर तालिम पनि रहेको छ ।

त्यस्तै, मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियन, आर्ट एन्ड कल्चरमा आर्ट एन्ड स्कप्चरको प्रशिक्षण, टेलरिङ, ब्युटिसियनअन्तर्गत नेल, मेक अप, आइलेस, हेअर कट एन्ड स्टाइल हुनेछ । साथै, इन्टेरियर डिजाइनिङ, ग्रिन सोलुसन, प्लास्टिक रिसाइक्लिङलगायतका क्षेत्रमा पनि प्रशिक्षण राखिएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #page 3

तपाईको प्रतिक्रिया