Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकामेलुङमा १५ करोडको आलु र तीन करोडको सुन्तला उत्पादन

मेलुङमा १५ करोडको आलु र तीन करोडको सुन्तला उत्पादन


दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाभित्रका स्थानीयह्रू पछिल्लो समय कृषिक्षेत्रतर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ । धेरैजसो किसानहरूले आलु र सुन्तला उत्पादनबाट राम्रो आन्दानी लिने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए ।

थोकरका अनुसार मेलुङ गाउँपालिकामा वार्षिक १५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ । यस्तै, सुन्तला पनि वार्षिक तीन करोड रुपैयाँ बराबरको उत्पादन हुने गरेको उनले जानकारी दिए । मेलुङको पवटीलगायतका क्षेत्रबाट सो रकम बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए । मेलुङका प्रत्येक किसानले सुन्तला बिक्रीबाट दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गाउँपालिकाले अनुदान दिने तथा विभिन्न गैरसरकारी संघसंस्थाले कृषिमा लगानी गर्ने गरेकाले पनि मेलुङवासी उत्पादनमूलक कृषिमा आकर्षित बन्दै गएको उनले बताए । मेलुङको तल्लो क्षेत्र सुन्तला र धानखेतीको लागि उर्वरभूमि मानिन्छ भने भेड्पुलगायतको माथिल्लो क्षेत्र आलु खेतीको लागि प्रख्यात रहेको छ ।

तल्लो क्षेत्रका किसानले धान तथा सुन्तलाबाट आम्दानी लिने गरेका छन् भने माथिल्लो क्षेत्रका किसानले आलुबाट राम्रो आम्दानी लिने गरेको अध्यक्ष थोकरले सुनाए । मेलुङबाट उत्पादित धेरैजसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोट बजारमा खपत हुने गरेको छ । त्यस्तै, रामेछापको मन्थली तथा राजधानीमा पनि यहाँको सुन्तला खपत हुने किसानको भनाइ छ । मेलुङको आलु भने काठमाडौं र भक्तपुरलगायतका जिल्लामा बढी खपत हुँदै आएको छ । गाउँपालिकाले चालू वर्षको बजेटमा पनि पूर्वाधार विकास, शिक्षासँगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यका अनुसार युवालाई गाउँमा नै रोजगार दिने योजनाअनुरूप कृषि, पशुपालन, फलफूल तथा तरकारी उत्पादनमा पालिकाले विशेष अनुदानको व्यवस्था मिलाएको छ ।

युवा पलायन रोक्नको लागि गाउँमै रोजगारीको व्यवस्था गर्नुपर्ने र त्यसको लागि कृषि तथा पशुपालन क्षेत्र नै महत्वपूर्ण हुने उनको भनाइ छ । पालिकाले हेफरलगायतका विभिन्न संघसंस्थाहरूको सहकार्यमा कृषि उत्पादन तथा उद्योगको लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तै, व्यावसायिक तालिमको व्यवस्था गर्ने र कृषि उत्पादन तथा बजारीकरणमा सहयोग गर्ने कार्यक्रम पनि सुरु गरिएको पालिका अध्यक्ष थोकरले जानकारी दिए । पालिकाको समन्वयमा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकले कृषकहरूलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने भएका छन् । सोअनुसार एक जना कृषकले १५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय समेत सुरु गरिसकेको पालिकाले जनाएको छ ।

अहिले पालिकाको पूर्ण लगानी वा सहयोगमा ठूला उद्योग सञ्चालन गर्न कठिन रहेकोले कृषि क्षेत्रलाई प्राथामिकता दिँदै आएको छ । यस्तै, साना उद्योग सञ्चालनमा सहयोग गर्दै आएको पालिकाले जनाएको छ । पालिका दिने अनुदान पनि उत्पादनलाई लक्षित गरी असली किसान र व्यवसायमा लागेका व्यक्तिको पहिचान गरेर मात्रै दिने गरेको पालिका उपाध्यक्ष आचार्यले बताइन् ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया