Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिचितुवाको आक्रमणबाट डेढ सय कालिज मरे, एक व्यक्ति घाइते

चितुवाको आक्रमणबाट डेढ सय कालिज मरे, एक व्यक्ति घाइते


पोखरा । गोरखाको पालुङटारस्थित एक कालिज फार्ममा चितुवा पसेर डेढ सय कालिज मारेको छ । पालुङटार नगरपालिका वडा नं.९ लामागरास्थित गोरखा अर्गानिक एग्रो फार्ममा आइतबार राति चितुवा पसेर उक्त नोक्सानी गरेको हो ।

चितुवाको आक्रमणबाट सोही फार्ममा काम गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.१, केराबारीका ४३ वर्षका रवीलाल बस्ताकोटीसमेत घाइते भएका छन् । बस्ताकोटीको हात र खुट्टामा चोट लागेको छ । उनी गोरखा अस्पतालमा प्राथमिक उपचार र चितवनमा थप उपचारपछि अहिले घर फर्किएका छन् ।

सञ्चालक जीवन ढकालका अनुसार फार्ममा गत जेठ महिनामा छ सय २१ वटा कालिज हालिएको थियो । तीमध्ये करिब २० वटा वर्षाको समयमा मरेको र १५ वटा हालसालै बिक्री गरिएको थियो । हालै बिक्री भएका कालिजमा पोथी एक हजार सात सय र भाले दुई हजार रुपैयाँका दरले बिक्री भएका थिए । बाँकीमध्ये करिब एक सय ५० वटा कालिज चितुवाको आक्रमणबाट मरेको र करिब तीन सय वटा चितुवाको आक्रमणमा पर्दा अतालिएर भागेको ढकालले जानकारी दिए । अहिले फार्ममा करिब ५० वटा मात्रै कालिज बाँकी रहेको उनले बताए ।

उनको फार्ममा चितुवा पसेर करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । फार्म संचालक ढकालका अनुसार ग्याबिन तार माथिबाट लगाएको नाइलनको जाली फाँडेर चितुवा फार्म भित्र छिरेको थियो । राति कामदार बस्ताकोटी कालिजलाई दाना दिन जाँदा मात्रै घटनाबारे जानकारी भएको हो । चितुवा साँझ ८ बजेदेखि ११ बजेको बीचमा फार्मभित्र पसेको हुन सक्ने ढकालको अनुमान छ ।

कामदार बस्ताकोटीले केही कालिज मरेको देखेका थिए । अन्य कालिजलाई दाना दिएर फर्किनेक्रममा बन बिरालो जस्तो देखेर धपाउन खोज्दा चितुवाले बस्ताकोटीलाई आक्रमण गरेको थियो । भोलिपल्ट उज्यालो हुँदासम्म फार्म भित्रै रहेको चितुवालाई डिभिजन वन कार्यालय गोरखाका कर्मचारी आएर फार्मको ढोका खेलेर प्राकृतिक रुपमा नै जंगल जान दिएको बताइन्छ ।

चितुवाले फार्ममा भित्र पुर्याएको क्षतिका बारेमा जनप्रतिनिधि, प्रहरी र डिभिजन वन कार्यालयको रोहवरमा क्षतिको विवरण संकलन गरिएको सञ्चालक ढकालले बताए । ढकाललाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिसका आधारमा राहत उपलब्ध गराइने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

ढकालले फार्ममा बंगुर, बँदेल कुखुरा, बाख्रा, भैँसीपालन गर्नुका साथै तरकारी खेतीसमेत गरेका छन् । फार्ममा हालसम्म करिब १० करोड रुपैयाँ लगानी भएको उनी बताउँछन् । करिब ७ वर्षदेखि एग्रो फर्म सञ्चालन गरेका ढकालले गत वर्षदेखि मात्रै कालिज पाल्न सुरु गरेका थिए । गतवर्ष तीन सय वटा कालिजबाट राम्रो आम्दानी भएपछि यसपटक दोब्बर कालिज हालेको उनी बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया