Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसरकारीको अनुदानमा हाते ट्र्याक्टर पाएपछि किसान खुसी

सरकारीको अनुदानमा हाते ट्र्याक्टर पाएपछि किसान खुसी


बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा. दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे ।

भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको राससलाई बताए । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।

“गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपर्थ्यो, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु. एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।

“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पर्थ्यो, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया