Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिधानखेतीको सिजन चल्यो किसानलाई मल छैन

धानखेतीको सिजन चल्यो किसानलाई मल छैन


सुबास बस्नेत
दोलखा, जेठ ३०
सरकारले कोरोना भाइरस संक्रमणको बहाना बनाएर यो वर्ष पनि देशभरका किसानलाई मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ । देश लकडाउनमा परेको बिहीबार ८० दिन पूरा भएको छ । लकडाउनको कारण जिल्लाका अधिकांश कृषि क्षेत्रका किसान थप प्रभावित बनेका छन् । जेठ पहिलो सातादेखि नै पानी परेकोले धान रोपाइँको बेला भएको छ । समयमा नै वर्षा भए पनि मलको अभावका कारण रोपाइँ गरिहाल्ने कि नगर्ने भन्ने अन्योलमा कृषक परेका छन् ।

जिल्लाको वैतेश्वर गाउँपालिकाका किसान ढालबहादुर बस्नेत भन्छन्, ‘आगामी सातादेखि धानबालीको रोपाइँ सुरु हुँदै छ । धानमा लगाउने मलको अभाव छ । जिल्ला मल पाइँदैन खेती गरी हाल्ने कि पछि गर्ने अन्योलमा परेको छु ।’ किसानहरू कुनै न कुनै बहानामा युरिया मलका लागि वर्षेनी सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । सधैं मलको चरम अभाव खेप्दै आएका किसानलाई यस वर्ष झनै कोरोनाको भाइरस र लामो समयको लकडाउनले थप प्रभावित बनाएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । कृषि सामग्री र साल्टले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण समयमा युरिया मल आपूर्ति नहुँदा किसानले युरिया मलका लागि सास्ती व्यहोर्नुपर्ने बताएको छ ।

यता जिल्लाका केही मुख्य बजार आसपासका किसानले सामान्यरूपमा मल पाए पनि दुर्गम गाउँका किसानले भने धान, मकै, बालीमा लगाउने युरिया, डीएपी पोटासलगायतको मल पाउन गाह्रो भएको गुनासो गर्दै आएका छन् । चरीकोटका व्यापारीले फागुन र चैत महिनामा लकडाउनले स्टोक रोकिएर बसेको मलले मकै बालिलाई लगाउन पुगे पनि धानबालीमा लगाउनको लागि भने मलको अभाव हुने बताए ।

जिल्लाको भीमेश्वर नगरपालिका, कालिन्चोक, वैतेश्वर, तामाकोशी, मेलुङलगायतका ठाउँ प्रमुख खेतीको रूपमा धानबालीको खेती हुँदै आएको छ । समयमै परेको पानीले असार पहिलो सातबाटै धान रोपाइँ सुरु गर्ने सोचमा रहेका शैलुङ फष्कु दोलखाका किसान हरि खड्का मल अभावका कारण रोपाइँ पछि सर्ने बताउँछन् । तोकिएको समयमा मल नआउँदा जिल्लामा मलको अभाव बढेको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया