Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक’

‘किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक’


काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छिन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडीआई’ लागू गर्न आवश्यक रहेको बताइन् ।

वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चासो व्यक्त गर्नु राम्रो भए पनि धेरै आशंका गरेर विकासका कामहरूमा अवरोध गर्नु राम्रो नहुने उनको भनाइ थियो । ‘हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ’, उनले भनिन्, ‘तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरूलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ । वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै शंका गरेर विकास कामहरू रोक्ने कुरा राम्रो होइन ।’

सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाइ थियो । ठूला–ठूला देशमा पनि एफडीआई लागू भएको उनले बताइन् । कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी रहेको उनको दाबी छ । यसबारे कार्यविधि बनाउन बाँकी नै रहेकोले आवश्यक अध्ययन र छलफल गरेर मन्त्रालयलाई सल्लाह सुझाव दिन पनि उनले आग्रह गरिन् ।

साथै उनले किसानको लागि सरकारले यो सिजनसम्मका लागि मलको व्यवस्था गरेको जानकारी समेत गराइन् । सरकार मल व्यवस्थापनको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको उनको भनाइ थियो । त्यसैका निम्ति सरकार मल कारखाना बनाउने दिशामा अगाडि बढेको भन्दै उनले कारखाना निर्माण गर्न केही समय लाग्ने देखिएकाले अहिलेको समस्या समाधान गर्नका निम्ति सातै प्रदेशमा आवश्यक रहेको मदको विवरण माग गरिएको समेत बताइन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया