Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिभवन निर्माणका लागि राष्ट्रिय सहकारी बैंकले बनायो कार्यदल

भवन निर्माणका लागि राष्ट्रिय सहकारी बैंकले बनायो कार्यदल


ललितपुर ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैंकको १७ औं वार्षिक साधारणसभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरे लगत्तै जग्गा खरिद गरेको बैंकले केन्द्रीय कार्यालय भवन निर्माणका लागि कार्यदल गठन गरेको हो ।

बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा गठित भवन निर्माण कार्यदलमा सञ्चालकहरू ज्ञान बहादुर तामाङ, पार्वती थापा र केदार मानन्धर सदस्य रहेका छन् । सञ्चालक समितिको बैठकले गठन गरेको कार्यदलको सदस्य सचिवमा वैंकका प्रवन्धक मोहन बहादुर कार्की रहेका छन् । बैंकले काठमाडौंको टेकुमा २ रोपनी १ आना २ पैसा क्षेत्रफलको जग्गा २० करोड ६० लाख २५ हजार रूपैयामा खरिद गरेको थियो ।

आफ्नै कार्यालय भवन निर्माण गरेर बैंकको सेवालाई थप प्रभावकारी रूपमा अगाडि बढाउनका लागि धेरै पहिलेदेखि पहल गर्दै आएको बैकका अध्यक्ष के.बी. उप्रेतीले बताए । उनले भने, ‘यसपटक जग्गा खरिद गरी भवन निर्माण कार्य अगाडि बढाउने निर्णय गरिएको छ । अब छिटै बैंकको आफ्नै केन्द्रीय कार्यालयको भवन निर्माण गरेर त्यहिबाट सेवा सञ्चालन गर्नेछौ ।’

६८ वटा शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको बैंकमा हाल करिव १३ हजार सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । बैंकमा २ अर्ब ८५ करोड शेयर पूँजि, ६० अर्ब निक्षेप र ३३ अर्ब कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले वित्तीय सेवासंगै सहकारी संघ संस्थाहरूको संस्थागत विकास, सहकारी शिक्षा सहकारीकर्मीहरूको क्षमता विकास, नेतृत्व विकास लगायत सहकारीको सुशासनलाई व्यवस्थित गराउने उद्देश्य सहित तालिम तथा स्तरीकरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया