Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबगर खेतीबाट मनग्य आम्दानी गर्दै मुक्तकमैया परिवार

बगर खेतीबाट मनग्य आम्दानी गर्दै मुक्तकमैया परिवार


कञ्चनपुर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बनहरा नदी किनारमा लहरै स–साना घरहरू छन् । बगरको तीरका सबै घर मुक्तकमैयाका हुन् । सो बस्तीमा एक सय २० मुक्तकमैया परिवार बस्दै आएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बनहरा नदीस्थित बनहरा शिविर हो, यो । जहाँ विसं २०६१/२०६२ सालमा मुक्तकमैयालाई नेपाल सरकारले प्रतिस्थापन गरेर शिविरको रूपमा बसोबास गराएको थियो । प्रतिस्थापनको लामो समय हुँदा पनि आर्थिक स्थिति एकदम कमजोर भएका शिविरका सबै परिवार अहिले नदी किनारमै बगर खेतीमा आकर्षित भएका छन् । बगर खेतीमा आकर्षित भएका मुक्तकमैयाको गुजारा त्यसैबाट चल्ने गरेको छ ।

‘बगर खेती सुरु गरेको लामो समय भयो । प्रतिस्थापन भएको वर्षदेखि अहिलेसम्म बगर खेती गर्दै आएको छु ।’ कृष्णपुर नगरपालिका–२ बनहरा नदीस्थित बनहरा शिविरका बिग्रा रानाले भने– ‘कुनै बेला भारतीयले कब्जा गरेर तरकारी फलाउने ठाउँ अहिले मुक्तकमैयाको भएको छ । सुरुसुरुमा चासो नदिने परिवार पनि अहिले बगर खेतीमा आकर्षित भएको छ ।’ नदीको किनारमा विगतको समयमा भारतीयहरूले बगर खेती गर्दै आएका थिए ।

भारतीयसँगै मुक्तकमैयाले पनि नदी किनारबाट तरकारी उत्पादन गर्दै गएपछि विस्तारै भारतीयले सो ठाउँलाई छोडेका छन् । कुनै बेला एक/दुई मुक्तकमैया परिवारले गर्ने बगर खेती अहिले सिङ्गो कमैया गाउँले गर्न लागेको रानाले बताए । नदी किनारको बालुवामा लौका, फर्सी, काँक्रा, प्याज, लसुन र तरबुज फलाउने गरिन्छ । नदी किनारको बालुवामा बगर खेती राम्रो हुने भएपछि मुक्तकमैया बस्तीका परिवारबीच बालुवाले भरिएको बगर रोज्नका लागि प्रत्येक वर्ष होडबाजी नै चल्ने गर्दछ । तत्कालीन सरकारले मुक्तकमैयालाई पहिले राजमार्ग क्षेत्रमा प्रतिपरिवार दुई कट्ठा जग्गा दिएको थियो ।

‘हाम्रो समुदायमा परिवारको संख्या धेरै हुन्छ । सामान्य मजदुरीले कुनै समयमा त खान लाउन समेत पुग्ने अवस्था हुँदैन । मजदुरी पनि चाहेजति पाउन निकै गाह्रो हुने गर्दछ’, रानाले भने, ‘गाउँसँगै नदीको बगर जोडिएको छ, आफ्नो निश्चित क्षेत्रमा बगर खेती ग-यो भने पनि मुनाफा राम्रो हुने गर्दछ । त्यसकारण बगर खेतीले गर्दा हामी आत्मनिर्भर पनि बन्दै गएका छौं ।’ रानाले यसपटक एक बिघा जग्गामा बगर खेती गरेका छन् भने अन्य ठाउँमा पनि छ कट्ठा जमिनमा तरकारी खेती गरेका छन् । लामो समयदेखि बगर खेती गर्दै आएका रानालाई बगर खेतीले कमाएको आम्दानीले घरखर्च चलाउन सहज भएको छ । रानाले बगर खेतीबाट वार्षिक तीनदेखि चार लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

यसैगरी बनहरा शिविरकै अर्का मुक्तकमैया नन्दलाल रानाले बगर खेतीबाट मनग्य आम्दानी हुनेगरेको बताए । उनका अनुसार मंसिर–पुस महिनादेखि सुरु गरिने बगर खेती वैशाख–जेठमा आएर सकिने गर्दछ । छ महिना जति गरिने खेतीले मुक्तकमैया परिवारलाई वर्षभरि खान लाउन सहज भएको छ । नदीको पूर्वतिरको भागमा करिब १० बिघा क्षेत्रफल रहेको बगरमा मुक्तकमैया परिवारले बगर खेती गर्ने गर्दछन् । १० कट्ठा जमिनमा बगर खेती गर्दै आएका रानाले सिजनमा करिब एक लाख रूपैयाँसम्म आम्दानी गर्नेगरेको बताए ।

पूर्व–पश्चिम राजमार्ग छेउमा बगरमा उत्पादित तरबुजालगायतका तरकारी बिक्री गर्नको लागि पुल किनारमै अस्थायी पसल राख्ने गरिन्छ । उत्पादित तरकारी बिक्रीका लागि समस्या नरहेको मुक्तकमैयाले बताएका छन् । ‘बगर खेतीबाट उत्पादित तरकारी बिक्री गर्नका लागि उल्लेख्य मात्रामा बजार भएको अवस्था छैन । पुलमुनि उत्पादन भएको तरकारीलाई पुलमाथि गएर बिक्री गर्नेगरेका छौँ । बजार नहुँदा केही समस्या भए पनि उत्पादन भएको तरकारी बिक्री नै नहुने समस्या भने छैन’, नन्दलाल रानाले भने ।

बिहान बगरबाट टिपेर पसलमा राखेको तरबुजालगायतको तरकारी साँझ नपर्दै सकिने गर्दछ । तरकारी उत्पादनको समयमा बढ्दो गर्मी हुने भएकोले काँक्रो, तरबुजालगायत बढी बिक्री हुनेगरेको मुक्तकमैया नन्दलालले बताए । यसैगरी अर्का मुक्तकमैया भज्जो रानाले पनि १२ कट्ठामा खेती गरेका छन् । उत्पादनसँगै बिक्री पनि राम्रो हुनेगरेको उनले बताए ।

गर्मी मौसममा काँक्रा, र लौकाको माग बढी हुनेगरेको बगर खेती कृषकले जनाएका छन् । बगरमा उत्पादन भएका काँक्रा न्यूनतम ५० रूपैयाँ, तरबुज, लौका र फर्सी २० रूपैया प्रतिकिलोका दरले बिक्री हुनेगरेको उनले बताए । जिल्लाको स्याली, सनबोरा, बनहरा, दोदा, चौधरालगायतका नदीको बगरमा खेती गर्ने किसानको संख्या हाल बढ्दै गएको छ । बगरमा उत्पादन भएको तरकारी स्थानीय बजारमासँगै महेन्द्रनगर, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रहरूमा पनि निर्यात हुनेगरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया