Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदुई दशकदेखि पर्बल खेती

दुई दशकदेखि पर्बल खेती


कञ्चनपुर । कृषि उत्पादन क्षेत्रमा हेर्ने हो भने भारतको भर पर्ने जिल्ला हो, कञ्चनपुर । वर्षेनी जिल्लालाई चाहिने तरकारी सिजनमा होस् कि अफसिजनमा धेरै जसो तरकारी भारतबाटै आयात हुन्छ । विदेशी तरकारीमा धेरै क्षेत्र ओगटेको जिल्लामा पछिल्लो समय भने तरकारीजस्ता कुराहरू उत्पादन हुँदै गएका छन् ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा गाउँभरि नै पर्बल खेती हुँदै आएको छ । विसं २०५० देखि यहाँका स्थानीयले पर्बल खेती गर्दै आएका छन् । नगरपालिकाको जोगबुढा नदीपारि यस गाउँमा झण्डै ४० घरपरिवार नेपाली बस्छन् । घरको आँगनमै भारतको सिमाना पर्ने यहाँका स्थानीय भारतमा पर्बल राम्रो बिक्री हुने भएपछि वर्षौदेखि पर्बल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । ‘पर्बल खेती सुरु गरेको लामो समय भयो, तत्कालीन राजा महेन्द्रले सिमानाका क्षेत्रमा बस्ती बसाउने योजनापछि २०२२ सालपछि हाम्रो बसोबास भएको हो ।’

दोधरा चाँदनी नगरपालिका–१० का स्थानीय खड्के बुढाले भने, ‘बस्तीको बसेको समयदेखि २०५० सालबाट पर्बल खेतीको बारेमा बुझेपछि खेती सुरु गरिएको थियो, हालसम्म आएर पनि खेती सुचारु नै छ ।’ भारतसँग सीमा जोडिएको कुतियाकबरका प्रत्येक घरपरिवारले अहिले पर्बल खेती गर्दै आएको छ । यसले गर्दा रोजगार नभएका स्थानीयलाई पर्बल खेतीले रोजगार समेत दिएको स्थानीय बुढाले बताए ।

जंगली जनावरले पनि समस्या नगर्ने तथा रोगले पनि असर नगर्ने पर्बल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तर नेपाली नागरिकले भने पर्बल खेतीको बारेमा नबुझेका कारण कुतियाकबरका नागरिकले लगाएको पर्बल खेती विगत वर्षौँदेखि भारत निर्यात हुँदै आएको छ । ‘पर्बल खेती सुरु गरेको र पर्बलको तरकारी खान लागेको पनि वर्षौँ भयो, तरकारी पनि राम्रो हुन्छ, खेतीलाई हुर्काएपछि पर्बल लामो समयदेखि गाउँकै आम्दानी हुने ठूलो स्रोत बनेको छ ।’ स्थानीय बुढाले भने, ‘पर्बलको पहिचान नेपालीलाई त्यति धेरै थाहा छैन, नेपाली बजारमा त्यति धेरै बिक्री पनि हुँदैन, हामीले सुरु गरेको वर्षदेखि अहिलेसम्म उत्पादन भएको पर्बलको तरकारीलाई भारत निर्यात गर्नेगरेका छौँ ।’ यहाँका किसानले प्रतिकिलो ३० रुपैयाँ भारु अर्थात् ५० रुपैयाँ नेपालीमा पर्बललाई भारत निर्यात गर्ने गर्छन् । नेपाली बजार नभए पनि बिक्री गर्नको लागि भारतको बजार हुने र भारत निकासीको लागि मात्रै स्थानीयले प्रबल खेती गर्दै आएको उनले बताए ।

अन्नबालीभन्दा पर्बल खेतीमा केही धेरै मिहिनेत लाग्ने गर्दछ । तर मिहिनेत बढी लागे पनि अन्नबालीभन्दा मुनाफा पर्बल खेतीबाट दिन सकिन्छ । दोधरा चाँदनीका अर्का स्थानीय टेकबहादुर सुनारले पनि पर्बल खेती गरेको दुई दशक बढी भयो । सुरु गरेको केही समयपछि माओवादी द्वन्द्वकालमा पर्बल खेती गर्न छोडेको भए पनि २०७० सालदेखि पुनः पर्बल खेती गर्दै आएको सुनारले बताए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया