Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिप्राङ्गारिक कृषि मेला हुने

प्राङ्गारिक कृषि मेला हुने


काठमाडौं, माघ १३
प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । माघ १७ देखि २० गतेसम्म पाटन संग्रहालय क्षेत्रमा मेला आयोजना गरिने बताइएको छ । करिब ५० कक्ष रहने मेलामा दुई सयभन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने आइतबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल, विषादीलगायत पदार्थ आयातमा सहुलियत दिई जैविक तथा वैदिक खेती प्रणालीलाई बिर्सिंदै जाँदा सम्भव नभएको पूर्वगृह राज्यमन्त्री एवं नेपाल अग्र्यानिक एसोसिएसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए । ‘किसानले जैविक खेती गर्न खोजे पनि सरकारको ध्यान त्यसतर्फ नजाँदा हाम्रा पितापुर्खाले गरेको कृषि पद्धति बिर्संदै गएका छौं, देशमा प्राङ्गारिक कृषि प्रणालीको प्रमाणपत्र दिने निकाय र परीक्षण गर्ने संयन्त्र नहुँदासमेत यो पद्धति छायाँमा परेको छ’, उनले भने ।

हाल विश्वमा ३० संस्थाले प्राङ्गारिक खेतीको प्रमाणपत्र दिने गरेका छन् । जापानमा कृषि मन्त्रालयले यससम्बन्धी काम गरिरहेको छ । भारत पनि प्राङ्गारिक खेतीतर्फ आकर्षित भइरहेको छ । भारतले सिक्किम र हिमाञ्चल प्रदेशलाई विषादी एवं रासायनिक पदार्थरहित प्रदेश घोषणा गरेको छ । कृषि मन्त्रालयले प्राङ्गारिक खेतीसम्बन्धी सम्मेलन गरी प्रतिवेदन तयार पारे पनि कार्यान्वयनका लागि पहल नगरेको एसोसिएसनले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई जैविक खेतीको समेत अध्ययन अनुसन्धानमा लगाउनुपर्ने माग एसोसिएसनले गरेको छ ।

प्राङ्गारिक उत्पादन बढाउन सके विषादीका कारण लाग्ने धेरै रोग कम भएर जाने भएकाले पनि यसतर्फ सरकारको ध्यान जानुपर्ने माग पनि पत्रकार सम्मेलनमा गरिएको थियो । खाद्यान्न शरीरको ठूलो औषधि हुने भएकाले विषादीरहित उत्पादनमा जोड दिने माग गर्न सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसँग भेट्ने कार्यक्रम तय भएको अध्यक्ष बाँस्कोटाले बताए । प्राङ्गारिक उत्पादनसँगै आयुर्वेदको प्रवद्र्धनमा पनि एसोसिएसनले काम गर्ने जनाइएको छ । यसले बिग्रिँदै गएको वातावरणीय सन्तुलनमा समेत सहयोग गर्नेछ ।

सरकारले वार्षिक अर्बौं रुपैयाँ रासायनिक मल र विषादी आयातमा सहुलियत दिन छुट्याएकामा त्यसलाई प्राङ्गारिक खेती प्रवर्द्धनमा बदल्नुपर्ने एसोसिएशनको माग रहेको उपाध्यक्ष प्रेमलाल लामाले बताए । आम मानिस हाल चाहना नहुँदा नहुँदै पनि विषादीयुक्त उत्पादन उपभोग गर्न बाध्य छन् । उत्पादनलाई निर्यातमुखी बनाउन पनि प्राङ्गारिक खेतीमा जोड दिने उद्देश्यले प्रचारप्रसारका लागि मेला आयोजना गरिएको आयोजक समिति संयोजक शान्ता कोइरालाले बताइन् ।

मेलामा प्राङ्गारिक तथा वैदिक खेतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनाका साथै यससम्बन्धी जानकारीसमेत दिइने छ । हाल पाँचथर, इलाम, काभ्रेपलाञ्चोक, नवलपरासी, गुल्मीलगायत जिल्लामा करिब १८ कम्पनीले अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र लिएर प्राङ्गारिक खेती गरिरहेको एसोसिएसनले जनाएको छ । मेलामा एक करोड बराबरको प्राङ्गारिक उत्पादनको कारोवार गर्ने लक्ष्य आयोजक समितिको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया