Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो


दोलखा । यतिबेला गाउँ तथा शहरका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको रौनक बढिरहेको छ । निर्वाचन आउन पनि अब मात्रै १० दिन बाँकी छ । उम्मेदवारहरू मत माग्न घरदैलो अभियानमा व्यस्त छन् तर किसानहरूलाई भने चुनावको भन्दा पनि धान भित्र्याउने मंसिरको चटारो बढी छ ।

जिल्लाको तल्लो क्षेत्रमा मुख्य बालीको रूपमा किसानहरूले वर्षाैँदेखि धानखेती गर्दै आएका छन् । गत असारमा रोपेको धान पाकेपछि यहाँका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई छ । मंसिरभर खेतबारीमै व्यस्त हुने किसानलाई चुनावले अहिलेसम्म छोएको छैन । भोट माग्न जनताका घरमा पुग्ने उम्मेदवार तथा नेतालाई फाट्टफुट्ट मान्छे भेट्न समेत मुस्किल छ । सोमबार चुनावी कार्यक्रमका नारा तथा गीत घन्काउँदै दर्जनभन्दा बढी सवारीमा गाउँ छिरेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले गाउँमा फाट्टफुट्ट समेत मान्छे भेट्न सकेनन् । होहल्लाका साथ नेता हिँड्दा समेत गाउँ निकै सुनसान देखिन्थ्यो । गाउँका प्रायः सबैजसो स्थानीय नजिकको खेतमा धान भित्र्याउने काममा व्यस्त देखिन्थे ।

बैतेश्वर–२ का रामलाल तामाङ भन्छन्, ‘चुनाव आयो–आयो भन्छन् तर आफूलाई चुनावको भन्दा खेतमा पाकेको वर्षभरि खाने बाली भित्र्याउन भ्याईनभ्याई छ ।’ तामाङले १४ रोपनी खेतमा धान लगाएका छन् । उनको बास नै हिजोआज खेततिरै हुनेगरेको छ । चार दिन लगाएर धान काटिसकेर बिटा लगाउन खेतला खोज्न गाउँ उक्लेका तामाङलाई चुनावले खेतला पाउन भने मस्किल बनाएको छ । चुनाव लागेर गाउँमा भएका युवा नेताको पछि लाग्दा गाउँमा खेतला समेत पाउन नसकेको उनले बताए । जिल्लाका अन्य गाउँका स्थानीयलाई समेत गाउँ–घरमा भन्दा खेतबारीमै व्यस्त भेटिन्छन् । कतिपय नेता भोट माग्न खेतमै आउने गरेको बैतेश्वरकै किसान हर्क श्रेष्ठले बताए ।

श्रेष्ठ पनि धान भित्र्याउने चटारोमा छन् । सोमबार उनको खेतमै एक हुल नेता तथा उम्मेदवार भोट माग्न पुगेका थिए । श्रेष्ठ भन्छन्, ‘नेताहरूलाई चुनाव लागेर के गर्नु आफूलाई धान काट्न र कुट्नै भ्याईनभ्याई छ । पाकेको कमाइ नभित्र्याए भोकै परिन्छ, चुनाव त आउँछ–जान्छ ।’ यस्तै उनले भोट खसाल्न समेत नजाने सुनाए । आफ्नो र छिमेकीको अर्मपर्म गर्दा फुर्सद नहुने भएकाले भोट दिन समेत नभ्याउने श्रेष्ठले बताए । ‘मौसमको भर छैन कुन बेला वर्षा हुने हो ।

गतवर्ष पनि असिनापानी परेर धेरै धान नष्ट पारेको थियो । यो वर्ष पनि चाँडै भित्र्याउन सके आफैँलाई राम्रो हो । त्यसैले चुनावभन्दा आफ्नै खेतीमा व्यस्त हुन्छु’, श्रेष्ठले भने । यता दल तथा उम्मेदवारलाई भने यहीँ समयमा गाउँ–घरमा मतदाता नभेटेपछि मन खिन्न हुनेगरेको छ । दैनिक गाउँमा एक न एक राजनीतिक दल मतदाता भेट्न पुगेकै हुन्छन् । दोलखामा सत्ता गठबन्धनका दल र नेकपा एमाले, राप्रपालगायतका साना दल तथा स्वतन्त्रतर्फबाट प्रतिनिधिसभातर्फ २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने दुईवटा प्रदेश निर्वाचन क्षेत्रमा गरी ५२ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया