Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको कमाइले स्वदेशमा उद्यमी


बेलबारी (मोरङ) । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन् ।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मिहिनेती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल कम्पनीमा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ । तीन कठ्ठा क्षेत्रफलमा तीनवटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चारवटा पक्की घर बनिसकेका छन् भने थप तीनवटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाइ र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ । वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पु-याई सक्नुपर्ने र ७ बजेसम्ममा विराटनगर र धरानसम्म पु-याइसक्नुपर्ने हुन्छ । दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पु-याउन समस्या हुन थालेपछि अब आफैँ पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन् । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् । सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए तर दुई वर्षअघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उनी काठमाडौँस्थित च्याउको बीउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहेका छन् । विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बीउ लिइरहेका छन् । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि, कोशी प्रदेश

तपाईको प्रतिक्रिया