Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी हुने

सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी हुने


काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी हुने भएको छ । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित बुधबारदेखि गोष्ठी हुने भएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजना र नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा दुईदिने गोष्ठी काठमाडौंको द सोल्टी होटलमा हुने बताइएको छ । गोष्ठीमा चार सय ५० जनाको सहभागिता रहनेछ । तीन सय ९८ जना व्यवस्थापकहरूले रजिस्ट्रेसन भइसकेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरूलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धिका सन्देशहरूको प्रवाह गर्दै जानु नेफ्स्कुनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाइ र व्यवस्थापन प्रमुखहरूको माग एवं आवश्यकताको आधारमा गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक तथा नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले बताए । वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक पनेरुले बताए ।

विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरूमार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवं हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरू आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाइ थियो । यस्तै गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नवीनतम औजार र समाधानहरूको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नुका साथै कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनावरहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्ने नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताए । वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने तथा वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको बताए ।

गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरू विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्ने विद्वत्हरूबाट विभिन्न सात विषयमा कार्यपत्रहरू प्रस्तुत हुने नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । गोष्ठीमा सातवटा विषयका सामूहिक सत्र सञ्चालन गरिने बताइएको छ । नेफ्स्कुनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित गोष्ठी सञ्चालन गर्दै आइरहेको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था, नेपालको समग्र वित्तीय अवस्था र विशेषतः नेपालको सहकारी अभियान तरलताको दबावमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठी आयोजना गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको तर्फ पनि सचेत एवं सजग रहेको आयोजकले जनाएको छ । गोष्ठीको आवश्यक तयारी समेत पूरा भएको जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया