Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारनिर्जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी पु-याउन कठिन

निर्जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी पु-याउन कठिन


काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)ले निर्जीवन बीमा कम्पनीहरूको नाममा २०७८ चैत १० गते चुक्ता पुँजी वृद्धिसम्बन्धी एउटा परिपत्र जारी गरेको थियो । उक्त परिपत्रमा २०७९ असार मसान्तभित्र निर्जीवन बीमा कम्पनीहरूलाई न्यूनतम दुई अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी कायम भनिएको थियो । प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी नेटवर्थ बढाई कम्पनीहरूको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरूलाई एक–अर्कामा गाभ्ने÷गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरूबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको बताएकोे थियो ।

तोकिएको चुक्ता पुँजी २०७९ साल चैत मसान्तसम्म कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी पु-याउन नसके ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी, विदेशी बीमकको रूपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको थियो । त्यसबेला बीमा समितीले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेस गर्नुपर्ने व्यवस्थासहित परिपत्र जारी गरेको थियो ।

चुक्ता पुँजी वृद्धिसम्बन्धमा परिपत्र जारी गरेको दुई वर्ष पूरा भएको छ भने बीमा समितिले अहिले नेपाल बीमा प्राधिकरणको नामबाट कारोबार सञ्चालन गर्दै आएको छ । तर, अहिलेसम्म सञ्चालनमा रहेका १४ वटामध्ये चारवटा निर्जीवन बीमा कम्पनीहरूले मात्र प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गरेका छन् । जसमध्ये आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी छन् । उनीहरूको चुक्ता पुँजी क्रमशः तीन अर्ब दुई करोड ९३ लाख ३५ हजार रूपैयाँ, दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार रूपैयाँ, दुई अर्ब ८० करोड ६५ लाख ५० हजार रूपैयाँ र दुई अर्ब ६५ करोड ४९ लाख ६७ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यीबाहेक हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको न्युनतम चुक्ता पुँजी भने दुई अर्ब रूपैयाँको हाराहारी छ । यी कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० सम्म क्रमशः दुई अर्ब ३० करोड १५ लाख ३५ हजार रूपैयाँ, दुई अर्ब एक करोड २३ लाख ६१ हजार रूपैयाँ, दुई अर्ब रूपैयाँ र एक अर्ब ९० करोड ४५ लाख ४६ हजार रूपैयाँ चुक्ता पुँजी पु-याएका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्ममा नेसनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले क्रमशः एक अर्ब आठ करोड १९ लाख ८२ हजार रूपैयाँ, एक अर्ब २८ करोड ९७ लाख ११ हजार रूपैयाँ, एक अर्ब ४५ करोड ९२ लाख ७६ हजार रूपैयाँ र एक अर्ब ४९ करोड ४७ लाख ६५ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

सबैभन्दा कम चुक्ता पुँजी राष्ट्रिय बीमा कम्पनीको देखिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी अहिले पनि जम्मा २६ करोड ६६ लाख ३९ हजार रूपैयाँ मात्र छ । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बीमा कम्पनीहरूले तोकिएको समयमा निर्धारित चुक्ता पुँजी कायम गर्न नसक्नुमा अर्थतन्त्रमा देखिएको मन्दी पनि प्रमुख कारण रहेको बताएका छन् । उनले भने, ‘अर्थतन्त्रको असहज स्थितिलाई ध्यानमा राखेर हामीले बीमा कम्पनीरुलाई पुँजी वृद्धिको लागि योजना पेस गर्न २०८० असार मसान्तम्म समय दिएका थियौँ, त्यो समयसीमाभित्रमा सबैजसो निर्जीवन बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेस गरिसकेका छन् । सोही योजनालाई आधार मान्दा अब छिटै सबैजसो कम्पनीहरूको चुक्ता पुँजी निर्धारित सीमाभित्र पुग्छ ।’ अहिलेकै अवस्थामा पनि धेरैजसो निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी निर्धारित सीमाको नजिक रहेको उनले बताए । अब उनीहरूलाई दुई अर्ब ५० करोडको सीमा कायम गर्न समस्या नहुने भन्दै उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेतलाई ध्यानमा राखेर यति समयभित्र न्यूनतम चुक्ता पुँजी कायम गर भन्ने अवस्था नरहेको बताए ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया