Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा तथ्याङ्कसम्बन्धी कार्यक्रम

बीमा तथ्याङ्कसम्बन्धी कार्यक्रम


काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ विषयक अन्तत्र्रिmया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

बीमासम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मकरूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको जानकारी दिए । उनले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमासम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यससम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमासम्बन्धी तथ्याङ्कको विश्लेषण आवश्यक भएको बताए । अध्यक्ष सिलवालले नागरिकलाई गरिबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुन सक्ने उल्लेख गर्दै हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बीमासम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण, शुद्धता र एकरूपताका लागि सम्बद्ध सबै निकायहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

अध्यक्ष सिलवालले राष्ट्रिय तथ्याङ्कलगायत अन्य निकायबाट सङ्कलन हुने तथ्याङ्कलाई एकीकृत गरी आदान प्रदान गर्ने संयन्त्रको आवश्यकता औँल्याउँदै यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्ययोजना तर्जुमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृतरूपमा समावेश गर्ने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमासम्बन्धी तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्बद्ध निकायहरूको साथ र सहयोग आवश्यक रहेको बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा तथ्याङ्क तथा सार्वजनिक निकायसम्बन्धी प्रस्तुति गर्दै राष्ट्रिय जनगणना गर्दा बीमासम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्याङ्क प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमासम्बन्धी तथ्याङ्क पनि समावेश हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, कृषि विभाग, पशुसेवा विभाग र नेपाल राष्ट्र बैङ्कका पदाधिकारीहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिहरू, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया