Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकलैया उपमहानगरपालिकामा बीमासम्बन्धी कार्यक्रम

कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी कार्यक्रम


काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा आइतबार बीमासम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आबद्ध गरेर बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गरे ।

अध्यक्ष सिलवालले भने, ‘सरकारले राष्ट्रिय बीमा नीति ल्याएको छ, अब स्थानीय तहले पनि बीमाको विकास एवम् विस्तारका लागि बीमा नीति ल्याउनु आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’

कलैया उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बीमाको विकास र विस्तारका लागि उपमहानगरपालिकाले स्वास्थ्य र कृषि तथा पशुपन्छी बीमालाई समावेश गरेर बीमासम्बन्धी कार्यविधि बनाएको जानकारी दिँदै घर बीमालाई समेत कार्यविधिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमाको परिचय, महत्व र आवश्यकता, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास तथा पहुँच विस्तारमा स्थानीय तहको भूमिकासम्बन्धी प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमा गरेको, बीमा शुल्क तिरेको तथा नवीकरण गर्नुपर्ने मितिलगायतका बारेमा डिजिटल प्रविधिमार्फत बीमितलाई जानकारी दिने व्यवस्था बीमा कम्पनीले गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा दाबी भुक्तानी सहज एवम् सरल हुनुपर्ने, बीमासम्बन्धी प्रचार प्रसारलाई व्यापकता दिनुपर्नेलगायतका धारणा राखेका थिए ।

कार्यक्रममा कलैया उपमहागरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गर्नुभएको थियो ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया