Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारवीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमासम्बन्धी अन्तर्क्रिया

वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमासम्बन्धी अन्तर्क्रिया


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकताअनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघसँग बुधबार वीरगञ्जमा आयोजित बीमासम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नयाँ बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई पनि निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष सिलवालले भने, ‘उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न प्याकेजमा कभर हुने गरी सम्पत्ति बीमा निर्देशिका जारी गरिएको छ, यसमा केही कमी कमजोरी देखिएमा सुधार गर्न सकिन्छ, बीमा कम्पनीले पुनर्बीमा गर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ ।’ बीमा दाबी भुक्तानीमा काहीँ कतै समस्या भए पनि बीमा कम्पनीहरूले ७५ प्रतिशतभन्दा बढी दाबी भुक्तानी गरेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘केही बीमितले समयमै आवश्यक कागजात तथा प्रमाण नपुर्याएकाले वा काहीँ सर्भेयरबाट प्रतिवेदन दिन ढिला हुनाले दाबी भुक्तानीमा ढिलाइ भएको हुन सक्छ, दाबी भुक्तानी छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ, निर्देशनलाई अटेर गरी दाबी भुक्तानी नगरेमा त्यस्ता कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गर्न प्राधिकरणपछि हट्दैन ।’ अध्यक्ष सिलवालले बीमाको पहुँच बढाउनका लागि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा प्राधिकरणले जोड दिँदै आएको र त्यस क्रममा हालसम्म तीन सयभन्दा बढी स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजना गरिसकिएको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक शिथिलताको हालको अवस्थामा उद्योग व्यवसायीहरूलाई बीमा शुल्कमा छुट दिने व्यवस्था गर्न आग्रह गरे । कार्यक्रममा उद्योगी व्यवसायीहरूले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरी जोखिम नदेखिएको अवस्थामा बीमा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न, न्यून बीमाको पहुँच रहेको मधेश प्रदेशमा बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, कोरोना बीमाको बाँकी दाबी भुक्तानी छिट्टै पाउने व्यवस्था गर्न र बीमा दाबी भुक्तानीलाई सरल एवम् सहज बनाउन आग्रह गरे । साथै, उनीहरूले विभिन्न देशमा बीमादर कम हुँदा पनि नेपालमा केही बीमालेखमा बीमादर बढी भएका कारण उद्योगी व्यवसायीहरूलाई मर्का परेको भन्दै त्यसतर्फ नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै बीमा क्षेत्रको विद्यमान अवस्था, उद्योग व्यवसायमा बीमाको महत्व र बीमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुति गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी व्यवसायी र बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया