Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूले संकलन गरे एक खर्ब २४ अर्ब बीमाशुल्क

बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब २४ अर्ब बीमाशुल्क


सु काठमाडौं । बीमाशुल्क आर्जन सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ४० प्रतिशतले बढी हो । गतवर्ष आठ महिनामा बीमा कम्पनीहरूले एक खर्ब १९ अर्ब ५९ करोड ८६ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार यस आर्थिक वर्ष फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १९ प्रतिशतले बढी हो । गतवर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल निर्जीवन बीमाशुल्क २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम २५ अर्ब ८७ करोड ३० लाख ६० हजार रुपैयाँ थियो ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूको घटेको छ । जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्म एक करोड ३८ लाख सात हजार दुई सय ४९ वटा बीमालेखहरू जारी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ३९ प्रतिशतले कम हो । गतवर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूले एक करोड ४० लाख एक हजार पाँच सय ७७ वटा बीमालेख जारी गरेका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने १० लाख ५९ हजार तीन सय ८६ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ४२ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १८ लाख ७६ हजार चार सय ५३ वटा बीमालेख जारी गरेका थिए ।

गत फागुन मसान्तसम्म बीमाको दायरामा आएको कुल जनसंख्यामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको संख्या ४३ दशमलव १६ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य कम हो । गतवर्ष फागुनमा बीमाको दायरामा आएको कुल जनसंख्यामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखकोे संख्या ४४ दशमलव शून्य पाँच प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया