Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल र चीनबीच लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारमा जोड

नेपाल र चीनबीच लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारमा जोड


काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल र चीनबीच लगानी एवम् व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि चिनियाँ राजदूत छन सोङसंग भेट गरी लगानी एवम् व्यावसायिक विस्तारका विषयमा छलफल गरेका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले चीन नेपालको विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ सहकार्यको आवश्यकता रहेको बताए । पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवम् सहकार्यलाई उच्च प्राथमिकता दिन उनले जोड दिए । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पु-याउन सहयोग गर्न समेत उनले आग्रह गरे । भेटमा अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराएका थिए ।

सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालसँग भएको आफ्नो ऊर्जा र स्रोतमार्फत देश विकास गर्न सक्ने बताए । त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेको उनको भनाइ थियो । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्नेमा सुझाव समेत दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । चीन र भारतको बीचमा भएर सानो देखिए पनि नेपाल सानो मुलुक नभएको उनले बताए । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरू छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया