Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदेशभर ५१ ‘चार्जिङ स्टेसन’

देशभर ५१ ‘चार्जिङ स्टेसन’


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेको विद्युतीय सवारीको अत्याधुनिक द्रूत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गरेसँगै सञ्चालनमा आएको हो ।

कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारीको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।

विद्युतीय सवारीको प्रवद्र्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताए । कार्यक्रममा ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । यस्तै, उनले प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको जानकारी दिए ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारी छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको छ । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानाठूला कारहरू चार्ज गर्न मिल्नेछन् । चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने बताइएको छ ।

नेपालमा उपलब्ध सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूरा हुन सक्छ । आन्तरिकरूपमा विद्युत्को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । यसबाट ठूला बससहित तीनवटा सवारीले एक साथ चार्ज गर्न सकिने बताइएको छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने बताइएको छ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राख्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया