Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘कृषि क्षेत्रको विकासमा साझेदारी गर्न निजी क्षेत्र तयार’

‘कृषि क्षेत्रको विकासमा साझेदारी गर्न निजी क्षेत्र तयार’


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि क्षेत्रको विकासमा साझेदारी गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् । महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रममा उनले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी अत्याश्यक रहेको समेत बताए ।

राउतले कृषि प्रविधिको विस्तार र विकासका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोत साधन र सीप तथा उपकरणहरूको विकास र विस्तारमा निजी क्षेत्र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा मकालु एग्रो एन्ड फुडका सञ्चालक नितेश कार्कीले जुम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको हुुँदा अब आयातित स्याउको गुणस्तरबारे नियमन हुनुपर्नेमा जोड दिए । कृषि अभियन्ता जीवन प्रकाश राईले कृषि उपजमा अनुसन्धान र प्रचार सँगसँगै हुनुपर्ने उल्लेख गरे भने धरान कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बजारीकरणका लागि उद्यमीहरूले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए । यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले कृषिमा यूवाहरुलाई आकर्षित गर्न सके कृषिमा व्यवसायीकरण हुन सक्ने उल्लेख गरे । यस्तै, मत्स्य व्यवसायी विष्णु आचार्यले आयातित माछाका कारण यहाँका माछा व्यवसायीहरू मर्कामा परेको गुनासो गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले सार्वजनिक निजी साझेदारी संवादमा उठेका महत्वपूर्ण सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । उत्पादन लागत कम भएका कृषि उपजको मूल्य निर्धारणमा ध्यान दिन सकिए त्यसको बजारीकरणको सम्भावना अझ धेरै बढ्ने उनको भनाइ थियो । सचिव दाहालले निजी क्षेत्रको पुँजी र प्रविधि परिचालन गर्न प्रदेश सरकार तयार रहेको समेत बताए । सचिव दाहालले कोशी प्रदेशअन्तर्गत इनरुवादेखि काँकडभिट्टासम्मको कोरिडोरमा कृषि उत्पादनको बजार व्यवस्थापनमा मण्डीहरूको स्थापना गर्न आवश्यक अध्ययनका लागि प्रदेश सरकार तयार रहेको समेत जानकारी दिए । उत्पादित कृषि वस्तुको उचित भण्डारण क्षमता वृद्धि गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

कृषि विज्ञ डा राजेन्द्र उप्रेतीले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि प्रविधि विकास र प्रसारमा दुई पक्षबीच साझेदारी हुनुपर्नेमा उनले जोड दिए । त्यसैगरी कृषि वस्तुको उत्पादन, प्रशोधनमा निजी क्षेत्रको साझेदारी बढेको खण्डमा वस्तुको प्रतिष्पर्धी क्षमता बढ्ने र व्यवसाय पनि फस्टाउने उनको दाबी थियो । साथै, परम्परागत रूपमा भइरहेका कृषि वस्तुको उत्पादनलाई विविधीकरण गर्न सकिए त्यस्ता वस्तुको मूल्य शृङ्खला अझ बढेर जाने र उत्पादक किसानले धेरै लाभ लिन सक्ने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया