झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली
झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले राससलाई जानकारी दिए ।
उनका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात व्यवस्थापन समितिमार्फत बिहीबारदेखि काठमाडौँ जाने रात्रि बस सेवामा एकद्वार प्रणाली लागू गरिएको हो । पहिलो दिन काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, बुधबारे र विर्तामोडका २० यात्रुबाहक रात्रिबस संयुक्त बुकिङ काउन्टरमार्फत यात्रु बोकेर काठमाडौँ गएका छन् ।
संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएका कम्पनीमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एन्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन् । काठमाडौँमा रहेका अन्य कम्पनीसमेत एकद्वार प्रणालीमा आउने तयारीमा रहेको उनले दाबी गरे ।
यो प्रणाली लागू भएपछि यात्रुले जुनसुकै बसको पनि एउटै काउन्टरबाट टिकट काट्न पाउने छन् भने यातायात व्यवसायीले आफ्ना गाडी पूर्वनिर्धारित आलोपालो मिलाएबमोजिम सञ्चालन गर्नुपर्नेछ । आलोपालोका लागि गाडी संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएको हुनुपर्ने छ । मेचीनगर यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले एकद्वार प्रणालीमार्फत एउटै बुकिङ काउन्टरबाट यात्रुले बिना झञ्झट सेवा पाउने सुरुआतले यातायात क्षेत्रमा व्याप्त बिचौलिया विकृति र बेथितिको अन्त्य हुने बताए ।
“हामी यात्रुको तानातान नहोस् र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् भन्ने चाहन्छौँ”, उनी भन्छन्, “हिजो सिन्डिकेट प्रथा भनेर संयुक्त समिति नै खारेज गराइयो । यो सिन्डिकेट होइन, यातायातलाई सही ढङ्गले व्यवस्थापन गर्ने आलोपालो पद्धति हो । यसबाट यात्रुलाई झन सुविधा हुन्छ ।” दर्जनौँ सङ्ख्यामा खुलेका बुकिङ काउन्टरका प्रतिनिधिले बसपार्कमै गएर यात्रु तानातान गर्ने विकृतिका कारण पूर्वीनाका नै बदनाम भइरहेको जनाउँदै यातायातलाई चुस्त र मर्यादित आफैँ बनाउँछौँ भनेर व्यवसायी लाग्नु स्वागतयोग्य कार्य भएको उनको भनाइ छ ।
जिल्लाको सबैभन्दा धेरै व्यवसायी र सवारी साधन भएको पूर्व मेची बस व्यवसायी प्रालिका पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त व्यवस्थापन गरेर आलोपालो प्रणालीमा जाने व्यवसायीको कदमलाई सरकार, स्थानीय प्रशासन र नागरिक तहबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गरेको छन् । “पहिलो चरणमा रात्रि बसबाट यो प्रणालीको प्रयोग गरिएको हो”, संयुक्त यातायात व्यवस्थापन समितिको रुट निर्धारण संयोजकसमेत रहेका श्रेष्ठले भने “चारैवटा यातायात कम्पनीका साझा बुकिङ काउन्टर सञ्चालन भइसकेका छन् । काउन्टर रहने स्थान र कर्मचारीसमेत निश्चित गरिसकेका छौं । यात्रु र गाडीको चाप हेरेर वैज्ञानिक ढङ्गले आलोपालो मिलाउँछौँ ।”
यातायात क्षेत्रमा निजी क्षेत्रको पहलमा एकद्वार प्रणाली लागू गरिएकोमा सरोकारवाला अन्य व्यवसायीले मिश्रित प्रतिक्रिया जनाएका छन् । होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले यात्रु र सवारी साधन बढ्दै गए पनि उचित व्यवस्थापन हुन नसकिरहेको अवस्थामा एकद्वार प्रणाली आउनु सराहनीय भएको बताए ।
पर्यटन व्यवसायी नीरबहादुर कार्कीले यात्रुलाई गाडी छान्ने स्वतन्त्रता हनन गरिन नहुने जनाउँदै पुरानै गाडीमा जबर्जस्ती टिकट काट्न बाध्य पार्ने अवस्था ल्याउन नहुने बताउनुभयो । मुलुककै ठूलो यातायात सञ्जाल भएको तत्कालीन मेची बस व्यवसायी सङ्घले दश वर्षअघिसम्म राजधानी जाने रात्रि बसको एकद्वार प्रणाली सञ्चालन गर्दै आएको थियो । तर, त्यसको चर्को विरोध भएपछि एकद्वार प्रणाली सरकारले खारेज गरेको थियो । तर, अहिले व्यवसायी नै एकद्वार प्रणालीको आवश्यकतामा जोड दिइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया