Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार


काठमाडौँ । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा रुएक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार एक सय जनाले अवलोकन गरेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले राससलाई जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार मेलामा व्यावसायिक कक्ष ६०, ल्यान्डस्केपिङ कक्ष तीन, अफिसियल कक्ष आठ, प्रतियोगितात्मक प्रदर्शनी एक कक्ष र एक खाद्य प्रदर्शनी कक्षसहित जम्मा ७३ कक्ष राखिएको थियो । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय प्रवेश शुल्क तोकिएको थियो । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नाराका साथ मेला सञ्चालन गरिएको हो ।

गत शनिबार मेलाको स्थलगत अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएकी थिइन् । नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् ।

२००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । अन्य समयभन्दा कार्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक करिब तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया