Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्द्रेणी पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

इन्द्रेणी पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन


काठमाडौं । नेपालमा पहिलो पटक इन्द्रेणी पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सो सम्मेलनको आयोजना गरेको हो ।

दुई दिने सो सम्मेलनको मुख्य ध्येय नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्मेलनको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उनले नेपालमा ‘लैङ्गिक समानता नीति’ २०७७ सालमा नै लागू भएको बताइन् । यस्तै, उनले लैङ्गिक समानता नीतिअनुसार पहिलोपटक समलिङ्गी विवाह समेत दर्ता भएको उल्लेख गरिन् । कार्यक्रममा उनले मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । आगामी दिनमा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताइन् ।

यस्तै, उनले इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि होटल र सम्पदा क्षेत्रमा रहेका व्यक्तिले प्रदान गर्ने सेवा प्रवाहलाई लैङ्गिक मैत्री बनाउन सुरु गरिएको जानकारी दिइन् । प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने उनको भनाइ थियो । मन्त्री चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पु¥याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले नेपाल यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटकका लागि सुरक्षित रहेको बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दनी लाय थापाले इन्द्रेणी पर्यटनका लागि नेपाल गन्तव्य मुलुक बन्ने सम्भावना रहेको बताइन् । उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटक भित्र्याउन पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिइन् ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनीलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताए । उनले अन्य देशमा जस्तो यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटक नेपालमा आउँदा डराउनुपर्ने अवस्था नरहेको बताए । नेपालका लागि युरोपियन युनियनको राजदूत भेरोनिक लोरेन्जोले विश्वका एक सय ४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि नेपालको अवस्था राम्रो रहेको जानकारी दिए । नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना अन्य देशमा भन्दा राम्रो देखेको राजदूत लोरेन्जोको भनाइ थियो ।

सम्मेलनमा गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा दुई खर्ब ११ अर्ब डलरको रहेको जानकारी दिइन् । अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको उनको भनाइ थियो । तीन वटा देशमा कोभिडको समयमा चार ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले चार दशमलव सात ट्रिलियन डलर पुगेको उनले जानकारी दिइन् । उनका अनुसार विश्वमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको जनसंख्या ३० करोड रहेको छ ।

सम्मेलनमा अमेरिका, न्युजील्यान्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको, सबैखाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको सम्मेलनमा बताइएको थियो । नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । उनीहरूको पहिलो विवाह दर्ता भएसँगै बर्दियाको बढैयाताल गाउँपालिकाले सुप्रिता गुरुङ र दिप्ती श्रेष्ठलाईे ‘लेस्बियन’ विवाह दर्ताको प्रमाणपत्र दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया