Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराष्ट्रिय विपद् व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम

राष्ट्रिय विपद् व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम


काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले राष्ट्रिय विपद् व्यवस्थापनमा निजी क्षेत्रले दिएको योगदानको सम्मानका लागि कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी जेठ २३ गते काठमाडौंको हायात रिजेन्सीमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक बृहत् कार्यक्रम आयोजना गर्न लागिएको एनबीआईले जनाएको छ । व्यावसायिक क्षेत्रलाई विपद्को पूर्वतयारी, दिगो रूपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने बताइएको छ ।

आयोजकका अनुसार कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्रका दुईवटा प्यानल छलफलमा उत्थानशील अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्व र विपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाका बारेमा अन्तर्क्रिया गरिनेछ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी तथा विज्ञबाट आफ्ना सुझाव तथा सफलताको अनुभवको आदानप्रदान गरिनेछ । दोस्रो सत्रमा सम्मान कार्यक्रम रहने छ । कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनीय र प्रशंसायोग्य योगदान पुर्याएका आठ व्यवसायलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानका लागि एनबीआईमा विज्ञ सम्मिलित गठन भएको निर्णायक समितिले उक्त व्यवसायहरू छनौट गर्ने जनाइएको छ ।

कार्यक्रममा विपद् पूर्वतयारी तथा व्यवस्थापन उत्थानशीलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा इच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधिहरू, निजी क्षेत्रका संघसंस्था एवं उद्यमी व्यवसायी, गैर–सरकारी निकाय तथा सञ्चार क्षेत्रका करिब तीन सय जनाको सहभागिता रहने आयोजकको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया