Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेपाली उत्पादनका लागि दक्षिण र दक्षिण पूर्वी एसिया नै मुख्य बजार’

‘नेपाली उत्पादनका लागि दक्षिण र दक्षिण पूर्वी एसिया नै मुख्य बजार’


काठमाडौं, पुस ८
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्वअध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले नेपाली उत्पादनहरूका लागि दक्षिण र दक्षिण पूर्वी एसिया नै बजार क्षेत्र हुने बताएका छन् । चीनमा आयोजना भएको ‘डिपेन दि सिल्करोड कोअपरेसन जिनान २०१९ साउथ एसिया एण्ड साउथ इष्ट एसिया इकोनोमी एण्ड ट्रेड फेयर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा चिनियाँ लगानी आकर्षणका साथै नेपाली उत्पादनहरूका लागि विश्वको आधा जनसंख्या बसोबास गर्ने दक्षिण र दक्षिण पूर्वी एसिया नै सिंगो बजार हुनसक्ने दाबी गरे ।

कार्यक्रममा उनले चिनियाँ राष्ट्रपतिको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा सहकार्यका लागि भएका ठोस प्रयासहरू नेपालको विकासका लागि महत्वपूर्ण आधार भएको समेत बताए । सिंगो दक्षिण एसिया नै ग्लोबल ट्रेडिङ र इमर्जिङ क्षेत्रको रूपमा अगाडि बढिरहेको अवस्थामा चीन र दक्षिण एसियाबीच जुन किसिमले सम्बन्ध विकसित भइरहेको छ, यसको अधिकतम फाइदा उठाउँदै नेपालमा सूचना प्रविधि, पूर्वाधार विकास (रेल, सडक, हवाइ उड्डयन, एयरपोर्ट) मा लगानी गर्न उनले चिनियाँ लगानीकर्ताहरूलाई आह्वान गरे ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनले अहिले नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, अफगानिस्तानलगायतका देशलाई लिंक रोडको रूपमा अगाडि बढाएको चर्चा गर्दैै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा बीआरआई महत्वपूर्ण माध्यम हुनसक्ने धारणा राखे । बीआरआईको भरपूर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नुपर्ने र यसका लागि चीनले उपलब्ध गराउने भनिएका सुख्खा तथा समुद्री बन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । इ–कमर्सको भरपूर उपयोगबाट बाह्य संसारले हासिल गरिरहेको लाभमा नेपाललाई पनि जोड्न अन्तर्सीमा इ–कमर्सलाई बढावा दिनुपर्ने, बीआरआईअन्तर्गत अन्तर्राष्ट्रिय सूचना सञ्जालमा नेपाललाई जोड्न सहयोग गर्नुपर्ने, गैरभन्सार अवरोधहरू हटाउनुपर्ने उनको सुझाव थियो ।

नेपाली एयरलाइन्सलाई चीनका विभिन्न महत्वपूर्ण सहरहरूमा उडान अनुमति दिइएपछि नेपालमा चीन तथा चीन भएर आउने पर्यटकहरूको संख्यामा समेत उल्लेख्य वृद्धि हुनसक्ने बताउँदै उनले यसबाट नेपाली व्यवसायीहरूलाई चीनसँगको व्यापार विस्तारमा समेत सघाउ पुग्ने बताए । सार्क उद्योग वाणिज्य संघ र बीआरआईजस्ता संस्थाहरूको प्रभावकारी उपयोगमा जोड दिँदै ढकालले सरकार–सरकार (जीटुजी), सरकार–निजी क्षेत्र (जीटुबी) बीचको सम्पर्क विस्तारलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानमा अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रमकै सिलसिलामा जिनानको लिनई सहरमा आयोजित अर्कोे कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक विकासको दर ५ प्रतिशतभन्दा माथि नै रहेको अहिलेको अवस्थामा यो क्षेत्र विश्वकै आकर्षक क्षेत्रको रूपमा अगाडि बढिरहेको दाबी गरे । नेपालसहित साउथ एसियाली मुलुकहरूले पूर्वाधार र औद्योगीकरणमा फोकस गरिरहेको यो बेलामा बीआरआईजस्ता फोरमले अझ बढी अवसरहरू जुटाइदिनुपर्ने उनले सुझाव दिए । साथै उनले यस क्षेत्रका लघु तथा घरेलु उद्योगहरूको क्षमता विकासका लागि प्रविधि हस्तान्तरणलाई केन्द्रमा राख्नुपर्नेमा समेत जोड दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया