Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे आईसीटी अवार्डको ग्राण्ड फिनाले पुस ११ गते हुने

हुवावे आईसीटी अवार्डको ग्राण्ड फिनाले पुस ११ गते हुने


काठमाडौं ।
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ गते आयोजना हुने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइन र सोसियल प्लाटफर्ममार्फत हुनेछ । हुवावेले मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश संस्था तथा कर्पोरेट संस्थाहरूको सहकार्य रहेको छ । नेपाल टेलिकम र जिनस सोलुसनको इन एसोसिएसन रहेको कार्यक्रममा फोन पे पावर्ड वाई र नेपाल दूरसञ्चार प्राधिकरण विशेष सहयोगी संस्थाको रूपमा रहेका छन् ।

अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कारहरू प्रदान गरिनेछ । यस वर्षको आईसीटी अवार्ड २०२० मा स्वदेश तथा विदेशबाट ३ सय ५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कोरोनाको विषम परिस्थितिमा पनि यो वर्ष अहिलेसम्मकै उत्साहजनक सहभागिता रहेको उनले बताए ।

हुवावे आईसीटी अवार्ड २०२० मा १४ जना जुरी सदस्य रहेका छन् भने १४ जनाको विशिष्ट सल्लाहकार समिति रहेको छ । गत भदौ महिनादेखि सुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको छ । २५ भन्दा बढी भर्चुअल मिटिङ आयोजना भएको र छनौट प्रक्रियाको लागि उच्चतम रूपमा प्रविधिको प्रयोग गरिएको जुरी संयोजक सुशील पोखरेलले बताए । पछिल्लो समय आईसीटी अवार्डको आकर्षण अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भइरहेको र हुवावेसँगको सहकार्यले यसलाई थप उचाइ दिएको पोखरेलकोे भनाइ छ ।

हुवावे आईसीटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेसन र डिजिटल गभर्नेन्स आईसीटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ ।

यसैगरी पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ । हुवावे आईसीटी अवार्ड २०२० मा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेस स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टीडीओ नेपाललगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

के–के पाउँछन् अवार्ड विजेताले ? आईसीटी अवार्ड २०२० का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् । यो सम्मानलाई नेपालको सूचना प्रविधिको क्षेत्रमा एक विशिष्ट अवार्डको रूपमा लिने गरिन्छ । यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्डअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउनेछन् । यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विना धितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् ।

इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । यो विधाका विजेतालाई एनसेलले सहयोग गर्नेछ । इन एसोसिएसनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ ।

जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ । ४ विधाका सर्वोत्कृष्टलाई ई–सेवाले २५ हजार बराबरको आफ्नो बिजनेस इन्टिग्रेसन र प्रवर्द्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया