Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएम्नेस्टी नेपालद्वारा ‘हजार माइलको यात्रा’ कार्यक्रम सुरू

एम्नेस्टी नेपालद्वारा ‘हजार माइलको यात्रा’ कार्यक्रम सुरू


काठमाडौं ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर एम्नेस्टी इन्टरनेशनल नेपालले ‘हजार माइलको यात्रा’ नामक एउटा नयाँ अडियो कार्यक्रमको प्रसारण प्रारम्भ गर्ने भएको छ । कोभिड–१९ महामारी र महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा गरिएका प्रतिकार्यले नेपाली आप्रवासी श्रमिकमाथि पारेको प्रभावबारे उक्त कार्यक्रमले प्रकाश पार्नेछ ।

‘द स्टोरी किचेन’सँगको सहकार्यमा बनेको यस कार्यक्रममा छ वटा श्रृङ्खलाहरू रहेका छन् । प्रत्येक शृंखलामा कोभिड–१९ महामारी सुरू भएपछि आप्रवासी श्रमिकहरूले भोगेका अनुभवहरूको विविध पक्षबारे चर्चा गरिएका छन् ।

कार्यक्रममा आप्रवासी श्रमिक, सरकारी अधिकारीहरू, पत्रकार र आप्रवासी श्रमिकहरूको अधिकारक्षेत्रमा सक्रिय अभियन्ताहरूसँगको अन्तर्वार्ता र कुराकानी रहेको छ । नेपाली आप्रवासी श्रमिकहरू महामारी सुरू हुनु अगाडिदेखि नै सबैभन्दा असुरक्षितमध्येको एउटा जनसांख्यिक समूहमा रहेका थिए, जो निरन्तर रूपमा रोजगारदाता र भर्ती केन्द्रहरूबाट दुर्व्यवहार र शोषणको शिकार हुँदै आएका थिए ।

कोभिड र यस महामारीले निम्त्याएको स्वास्थ्य संकटको प्रतिकार्यमा विभिन्न सरकारहरूले ल्याएका सरकारी नीतिहरूले उनीहरूको पहिल्यै देखिको अस्थिर र जोखिम अवस्थालाई थप नाजुक बनाएको थियो । संक्रमणको जोखिम हुँदाहुँदै पनि कतिपय श्रमिकहरूलाई काममा जान बाध्य पारिएको थियो भने कतिपयलाई त आधारभूत सेवा सुविधाहरू उपभोग गर्नबाट समेत वञ्चित पारिएको थियो ।

सरकारले एक्कासि र एकदमै छोटो सूचना दिएर सीमा नाकाहरू बन्द गरी आवतजावतमा बन्देज लगाएपछि हजारौं श्रमिकहरू अलपत्र परेका थिए । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाका अनुसार यो वर्ष स्वदेश र विदेश दुवै ठाउँमा यस्ता अद्भुत समस्याहरू सामना गर्न बाध्य भएका व्यक्तिका कथाहरूलाई यस रेडियो कार्यक्रमको शृंखलामा समेट्ने प्रयत्न गरिएको छ ।

यस अडियो कार्यक्रमको पहिलो शृंखला देशभरका विभिन्न १७ वटा रेडियो स्टेसनहरूबाट प्रसारण हुनेछ । कार्यक्रम हाम्रोपात्रो यापलगायत अन्य पोडकास्टिङ प्लेटफर्ममार्फत अनलाइन पनि उपलब्ध हुने बताइएको छ । कार्यक्रमको नयाँ शृंखला हरेक शुक्रबार र शनिबार बिहान सार्वजनिक हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया