Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्लोबल एनआरएन सिंगिङ आइडलका लागि ६० जना छानिए

ग्लोबल एनआरएन सिंगिङ आइडलका लागि ६० जना छानिए


काठमाडौं ।
ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिस्पर्धामा भाग लिनका लागि भिडियो पठाएका दुई सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल रहेका छन् ।

छवटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो । ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनौट भएका ६० जना प्रतिस्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको बताए । साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिनपछि सारिने रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् । प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्युजिक ट्र्याकमा गीत गाउनेछन् । विश्वभरबाट डिजिटल अडिसनमार्फत भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनौट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँच जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया