Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघद्वारा पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन

महासंघद्वारा पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेसन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि अक्षेश्वर महाविहार पुल्चोक, ललितपुरमा ड्राई (अक्सिजन र आपत्कालीन उपचारविनाको) आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको स्थानीय संयोजन, आरम्भ फाउन्डेसनको स्वास्थ्य सेवासम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइसोलेसन केन्द्र स्थापनाका लागि स्थान उपलब्ध गराएको हो । आइसोलेसन सेन्टरमा प्रारम्भमा जम्मा ३० बेड रहनेछन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ ।

केन्द्रका लागि आवश्यक औषधि, महासंघको कार्यकारिणी समिति सदस्य प्रबलजंग पाण्डे र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, मास्क सेनिटाइजर कार्यकारिणी समिति सदस्य आनन्द वगाडिया, खाद्यान्न कार्यकारिणी समिति सदस्य सन्दिप अग्रवाल (गाडिया), सेनिटाइजर ह्यान्डवास सोप पवन चौधरी, डेटोल सोप, कोल्गेट, टुथपेष्ट, टुथब्रस, हार्पिक बल्लभ सिग्देल, पिउने पानी अजयसिंह कार्की, इन्टरनेट सेवा भायनेटका सेवा पाठक, हात्तीछाप चप्पल विदुषी राणाले उपलब्ध गराई सहयोग गरेका छन् ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलिनसक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको महासंघले जनाएको छ ।

आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिनेछ भने तत्पश्चात्को सम्पूर्ण व्यवस्थापन बिरामी आफैँले गर्नुपर्नेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले संक्रमणका बखत उचित खानपिन र वासस्थानको अभाव भइरहेकालाई केन्द्र सञ्चालनबाट ठूलो राहत पुग्ने बताए । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारीको यो समयमा समस्यामा परेकाहरूलाई मानवीय सेवा गर्ने उद्देश्यले महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट निकै धेरैले राहतको महशुस गरेको बताए ।

आइसोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यले कोभिडको यो विषम परिस्थितिमा ललितपुरमा आइसोलेसन केन्द्र सञ्चालनका लागि सहयोग गरेकोमा ललितपुर उद्योग वाणिज्य संघ, आरम्भ फाउण्डेसन र अक्षेश्वर महाविहार र यसका नेतृत्वलाई धन्यवाद दिए । ललितपुर उवासंघका अध्यक्ष मनोज बहादुर न्याच्छयोले यो मानवीय सहायता कार्यमा महासंघसँग जोडिन पाएकोमा खुसी प्रकट गर्दै संघको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।

महासघले यसअघि गत वैशाख ३० गतेदेखि भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेसनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइसोलेसन सेन्टर र जेठ ३ गतेदेखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौं महानगरपालिका वडा नम्वर १७ सँगको सहकार्यमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया