Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभैरहवामा एफटीटीएचमार्फत आईपी टिभी सेवा सञ्चालनमा

भैरहवामा एफटीटीएचमार्फत आईपी टिभी सेवा सञ्चालनमा


काठमाडौं ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (फाइबर टु द होम) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानहरूमा वितरण सुरु गरिएको हो । टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालयमातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो । हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू उपलब्ध छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकहरूलाई उपलब्ध हुनेछ ।

हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । बेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरू र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरू हेर्न सकिन्छ । नेपाल टेलिकमले २०७७ पुस १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टिभी सेवाको वितरण सुरु गरेको थियो । हाल यो सेवा काठमाडौं उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया