Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयामाहाको एफ जेड भी–३ एक्स–कनेक्ट नेपालमा

यामाहाको एफ जेड भी–३ एक्स–कनेक्ट नेपालमा


काठमाडौँ । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज यामाहाको एफ जेड भी३ कनेक्ट एक्स मोडल आधिकारिक रुपमा नेपालमा ल्याएको छ । वि.सं. २०६५ मा, एमएडब्लु प्रालिले यामाहाको एफ जेड–१६ पहिलो पल्ट ‘लर्ड अफ द स्ट्रिट’ नाराको साथ नेपाली बजारमा ल्याएको थियो ।

आफ्नो सुरुवाती दिनहरूदेखि नै यामाहाले नेपाली बाइक प्रेमीहरूको मन जित्ने कोशेढुङ्गा पार गर्दै आएको छ, जसको एउटा उदाहरण एभरेष्ट बेस क्याम्पमा पुग्न सफल हुने पहिलो बाइक हो । यामाहा, विशेषतः बाइकप्रेमी युवापुस्ताहरूले सर्वाधिक मन पराइएको बाइकहरूमध्ये एक हो । आफ्नो समयका बाइकहरूभन्दा सदैव अगाडि रहन सफल यामाहा हरेकपल्ट आफ्ना शैली र कार्यक्षमतामा केही सुधार गर्दै बजारमा आउने गरेको छ ।

समयको गतिशीलता र यामाहा एफ जीका प्रशंसकहरूका माघहरूलाई मध्यनजरमा राख्दै सन् २०१४ मा यामाहाले ब्लु कोर र नयाँ एफआई प्रविधि फिचर गरिएको एफ भी टु बजारमा ल्याएको थियो । एक सय ४९ सीसीको यस बाइकमा ‘ब्लु कोर’ इन्जिनको अवधारणा ल्याएर कम इन्धन खपत, वातावरणमैत्री र अझ शक्तिशाली बनाएर यामाहाले ग्राहकहरूका मन जित्न सफल मात्र नभई चम्किलो र अतुलनीय गतिशीलतामार्फत ग्राहकलाई आकर्षित जीवनशैली पनि प्रदान गरेको थियो ।

कम्पनीका अनुसार यामाहाको गरिमा अझ धेरै फराकियो जब आफू नेपाली युवापुस्ताको सर्वाधिक मन पराइएको बाइक भएको नाताले यसले नेपाली युवापुस्ताबीच लोकप्रिय रियालिटी शो ‘रोडिज’सँग दुर्गम स्थानका नेपाली युवापुस्ताका प्रतिभा उजागर, प्रवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले साझेदारी ग-यो । सन् २०१७ रोडिजको दोस्रो सिजनबाट ‘रोडिज शो’सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ ।

यामाहाले नेपाली युवापुस्ताका प्रतिभा बाहिर ल्याउन रोडिजको हरेक सिजनमा अडिसन लिने गरेको छ । कम्पनीका अनुसार यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित पु-याउने लक्ष्य राख्दै एफ जेड एस भी थ्री एक्स कनेक्ट डिजाइन गरिएको हो । यसको नेपाली बजार मूल्य तीन लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ । साथै यसको सबैभन्दा ठूलो सुविधा भनेको यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आईओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिन सकिनेछ ।

साथै यसमा ब्लुटुथको प्रविधिको पहिलो सुविधा ‘एन्सर ब्याक’ रहेको छ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्न थाल्नेछ र हर्न बज्न थाल्नेछ, जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर विना कुनै झन्झट थाहा पाउन सक्नेछ । यस प्रविधिको दोस्रो सुविधा ‘इ–लक’को व्यवस्था रहेको छ । यो प्रविधिको रोचक कुरा के छ भने यदि यसमा इ–लक प्याटर्न राखेको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालू गर्न सक्नेछैन । ‘इ–लक’ प्याटर्न मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको यसका उपभोक्ताहरू बताउँछन् । ‘लोकेट माई बाइक’ ब्लुटुथको अर्को सुविधा छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्नेछ । विशेषगरी यो फिचर चालकले भीड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।

त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्री’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् । ‘पार्किङ रेकर्ड’ पाँचौँ सुविधा रहेको छ, जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछन् । यसको छैटौँ सुविधा ‘हजार्ड’ रहेको छ । ‘हजार्ड’ सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

एमएडब्लुका सीईओ राजु क्षेत्रीले एफ जेड भी थ्री कनेक्ट एक्स मोडलमा ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको हल्का वजनको रहेको र यस बाइक १४० सेक्सनको रेडियल टायर राखिएको बताए । साथै साइड स्ट्यान्ड हटाइएको र बीएसभीआई र एबीएसजस्ता अपग्रेड गरिएको उनको भनाइ छ । यामाहाको हरेक एफ जेड सिरिजले हरेकपल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइकप्रेमीहरूका मन जित्न सफल भइरहेको उनले दाबी समेत गरे । यस पटक पनि नेपाली बाइक –प्रेमीहरूका मन अवश्यै जित्ने उनको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया