Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबन्दीपुर केबलकारको टावर जडान सुरु

बन्दीपुर केबलकारको टावर जडान सुरु


तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।

बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । उनका अनुृसार तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिईएको छ । केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताए । तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भएको हो । कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएको उनले सुनाए ।

यस्तै कम्पनीले होटल र केबलकारको दुबैको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु-याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु-याइएको छ । शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । वि.सं. २०७५ साउन पहिलो साता शिलान्यास भई वि.सं. २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो । अब वि.सं. २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।

कम्पनीले वि.सं. २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेसनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी वि.सं. २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कम्पनीले त्यसभन्दा अगावै वि.सं. २०७८ फागुन १ गते रेष्ट्रोजोन सञ्चालनमा ल्याउने भएको छ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, उनले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ ।

बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको उनले बताए । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया