Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई–पे क्यान इन्फोटेक सुरु

आईएमई–पे क्यान इन्फोटेक सुरु


काठमाडौं । क्यान महासंघको आयोजनामा आईएमई–पे क्यान इन्फोटेक २०२२ सुरु भएको छ । २७औँ संस्करणको इन्फोटेक काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको हो । कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उनले सूचना प्रविधिलाई देश विकासको स्रोतका रूपमा लिएको र सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरी नीति बनाउने बताए । साथै उनले सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको र आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल सरकारले तत्काल स्टार्टअप नीति ल्याउनुपर्ने बताए । दिनदिनै नयाँ–नयाँ इनोभेसन तथा स्टार्टअप कम्पनी आइरहेको अवस्थामा ती स्टार्टअप कम्पनीको संरक्षण र नियमन गर्न पनि स्टार्ट अप नीति सरकारले बनाइहाल्नुपर्नेमा उनले जोड दिए । महासंघले ई–कमर्स कानुनका लागि सरकारलाई सुझाव समेत दिइसकेको तर सरकारले तदारुकता नदेखाएको उनको भनाइ छ ।

कार्यक्रममा उनले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तारको क्षेत्रमा लगाउन प्रस्ताव समेत गरेका छन् । औद्योगिक व्यवसाय ऐनअनुसार मझौला तथा ठूला उद्योग व्यवसायले हरेक वर्ष आफ्नो वार्षिक नाफाको एक प्रतिशत रकम सीएसआरको रूपमा सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ । त्यस्तो रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तार र प्रयोगमा खर्च गर्न सकिने गोल्छाको भनाइ थियो । क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सरकारले सूचना प्रविधिमा आधारित कुनै पनि वस्तु आयातमा रोक लगाउन नहुने बताए । नेपालमा अत्यावश्यक रहेको मोबाइल तथा ल्यापटप आयातमा रोक लगाइएको भन्दै यस्ता वस्तु नेपाल भित्र्याउन दिनुपर्ने उनको माग छ ।

त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारी अनलाइन सेवालाई अझै व्यवस्थित गर्नुपर्ने बताए । सूचना प्रविधिको विकासले फड्को मारिरहेको अवस्थामा नेपालमा भने घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेकाले सरकारले सूचना प्रविधिको विस्तारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सरकारले सूचना प्रविधि क्षेत्रलाई बुझ्न नसकेको बताए । ‘नेपालमा सफट्वेयर हार्डवेयरजस्ता आईटी कम्पनीहरू आक्रामकरूपमा आइरहेका छन् तर, सरकार उनीहरूको समस्याबारे बुझ्न चाहँदैन’, उनले भने । उनका अनुसार योजना आयोगले आईटी कम्पनी तथा सूचना प्रविधि क्षेत्रका समस्या सरकारसमक्ष पु-याउन लागिपरेको छ ।

बुधबारदेखि सुरु भएको क्याम मेला वैशाख १२ गतेसम्म ६ दिन चल्नेछ । यस मेला यसअघि कोभिड–१९ का कारण दुई पटक स्थगित भएको थियो । यस मेलाको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सहप्रायोजक एससीटी स्मार्ट क्यूआर युनियन–पे रहेको छ । मेलाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा गरिएको क्यानले जनाएको छ ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनी समेतको व्यवस्था गरिएको छ । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रूपमा क्यान महासंघसँग सहकार्य गरेको छ । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रूपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्युरेन्सको रूपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । इन्फोटेकलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाहरूको सहयोग रहेको छ ।

मेलामा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाइ तथा इन्टरनेटलगायत व्यवसायीहरूले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भटर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम सोल्युसन, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्डडिस्कजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखेका छन् । त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहेका छन् ।

अघिल्लो पटक करिब साढे तीन लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोही संख्यामा अवलोकनकर्ता आउने क्यानको अपेक्षा छ । यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको र प्रवेशशुल्क मात्र एक रुपैयाँ रहेको क्यानले जनाएको छ । प्रवेश टिकटलाई आईएमई–पेले व्यवस्थापन गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x