Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपेट्रोल र ब्याट्री दुवैबाट चलाउन सकिने स्कुटर सार्वजनिक

पेट्रोल र ब्याट्री दुवैबाट चलाउन सकिने स्कुटर सार्वजनिक


काठमाडौं । सुन्दर यातायात प्रालिले पेट्रोल र बिजुली दुवैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले भारतीय तथा चिनियाँ प्राविधिकको सहजीकरणमा सुन्दर अटो इन्जिनियरिङले तयार गरेका स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका यी स्कुटर ब्याट्री पूरा चार्ज गर्दा एक सय किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ । ब्याट्रीबाट चलाउन मन नलागेको अवस्थामा अथवा ब्याट्रीको चार्ज सकिएको अवस्थामा यसलाई पेट्रोलबाट पनि चलाउन सकिन्छ । यसका लागि स्कुटरका बटन राखिएको छ ।

आवश्यकताअनुसार बटन रोज्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ । यसबाहेक कम्पनीले पार्टपुर्जा आयात गरी विद्युतीय मोटरसाइकल तथा अन्य स्कुटरहरु पनि तयार गरिरहेको जानकारी दिएको छ । यस्तै कम्पनीले मोटरसाइकल बजारमा बिक्री गर्ने अनुमति भने पाइसकेको छैन । हालसम्म एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा बिजुलीबाट चल्ने स्कुटर चढ्दा धेरै सहुलियत मिल्ने उनको भनाइ छ । ‘एक सय ६० रुपैयाँ पर्ने एक लिटर तेलले २५ किलोमिटर गुड्छ । विद्युतीय स्कुटर सोही किलोमिटर गुड्दा सात रुपैयाँ मात्र खर्च हुन्छ,’ उनले भने ।

यस्तै उनले चाइना बीएके÷गाउङ अटोमोबाइल्सबाट उत्पादन भएको विद्युतीय बस, युरो टेक्नोलोजीमार्फत आएको काउसिसका बसहरु तथा भारतीय ब्राण्ड एक्सर कम्पनीको स्कुटीहरु काठमाडौंको सडकमा १२० किमिसम्म सहज रुपमा चल्नसक्ने समेत जानकारी दिए । यस्तै सुन्दर यातायातले निकट भविष्यमा देशका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालन गर्ने उनले बताए । उनले वैशाख महिनाभित्र सुन्दर एपमार्फत मोटरसाइकल र स्कुटी अनलाइन सिस्टमबाट सेवा सुरु गर्दै आफ्नो यात्रुलाई बस, हाइस र स्कुटरबाट सेवा विस्तार गर्ने बताए ।

सो कार्यक्रममा कम्पनीको सञ्चालक सन्त बहादुर पुन, ऋतु चौलागाई र कम्पनीका अन्य सञ्चालकहरु, सुन्दर अटो इन्जिनियरिङका इन्जिनियर पाण्डव पौडेलले प्राविधिक तथा पेट्रोलबाट चलाउने सवारीसाधन सञ्चालनको फाइदाको विषयमा जानकारी गराएका थिए । सवारीसाधनमा प्राविधिक जोखिम नरहेको र यी सवारीसाधन प्रयोगलाई बढाउनुपर्नेमा उनीहरुले जोड समेत दिए । यस्तै कम्पनीले कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटीहरु तीन दिनभित्र विद्युतीय साधनमै परिणत गरिदिने जनाएको छ । पछि सो समयलाई घटाई आठ घण्टाभित्र एसेम्बल गर्नसक्ने तयारी पूरा गरेको कम्पनीका प्राविधिकले जानकारी दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x