Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसएमइज र स्टार्टअप्समा सहकार्य गर्न महासंघ र कोरियन एजेन्सी कोस्मेबीच सम्झौता

एसएमइज र स्टार्टअप्समा सहकार्य गर्न महासंघ र कोरियन एजेन्सी कोस्मेबीच सम्झौता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी कोस्मे बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले शुक्रबार हस्ताक्षर गरेका हुन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदानप्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ । साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेसन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरश कार्यान्वयनमा महासंघको प्रतिबद्धता पनि जनाए । अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे ।

कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता समेत उनले जनाए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाःखको उपस्थिति थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x