Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमईको २२औँ वार्षिकोत्सव

आईएमईको २२औँ वार्षिकोत्सव


काठमाडौं । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई आफ्नो स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव समेत मनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा अर्थमन्त्री शर्माले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको भन्दै थुप्रै चुनौती पार गरेर रेमिट्यान्स क्षेत्रलाई यहाँसम्म ल्याइपु-याउन आईएमईले ठूलो योगदान गरेको बताए । यस्तै उनले रेमिट्यान्सले ग्रामीण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको बताए ।

कार्यक्रममा आईएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए । एउटा सानो कोठाबाट सुरूवात भएको आईएमईले विगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आईएमई रेमिट्यान्सको पर्यायवाची बनेको देख्दा आफू र आफ्नो टिम प्रसन्न रहेको उनले बताए । मुख्य सचिव शंकरदास वैरागीले रेमिट्यान्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए । यस्तै अर्थसचिव मधुकुमार मरासिनीले आईएमईले रेमिट्यान्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्नसक्ने बताए । गाउँ–गाउँमा आईएमई संस्कृति विकास भएको र अब यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा श्रमसचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आईएमई व्यवस्थापनलाई सुझाव दिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिट्यान्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गरेका थिए । कार्यक्रममा माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिट्यान्स सेवाका लागि आईएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै आईएमई ‘फादर अफ रेमिट्यान्स’ भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया