Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी


काठमाण्डौं,फागुन १५
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामी चैतमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आफू सबै जना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको संवाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबै जना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘तपाईँहरुको मनोबल सधैँ ऊँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख र दुःखमा साथमा रहने प्रण गर्दछु ।’ राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा समृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । साथै उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए । ‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइनेछ । जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो’, उनले भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्वउपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगायत निजी क्षेत्रको ठूलो उपस्थिति रहेको थियो ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति समेत हुन् । उनीले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् । साथै उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक समेत हुन् । कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत हुन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत पनि हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया